६ आश्विन २०८३, मंगलबार 1790101610
राजनीति

आमाको आँखाको आँसु पुछ्नुस् : ज्ञानबहादुर शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले जेनजी आन्दोलनका दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि जेनजी आन्दोलनका दोषीमाथि कारबाही हुन नसकेको भन्दै प्रश्न गरे। राष्ट्रिय मानव अधिकार आयोगले दोषीबारे सरकारलाई जानकारी गराइसकेको दाबी गर्दै उनले अहिलेसम्म उनीहरू पक्राउ नपर्नुको कारण माग गरे।

‘तपाईंले सरकार चलाएको ६ महिना भयो। राष्ट्रिय मानव अधिकार आयोगले कोको दोषी हुन् भनेर प्रमाणपत्र बुझाएको पनि ६ महिना भयो। अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन ?’ उनले प्रश्न गरे।

जेनजी आन्दोलनमा आफ्ना सन्तान गुमाएकी आमाले संसद्मै पीडा व्यक्त गरेको प्रसंग उल्लेख गर्दै शाहीले पीडित परिवारको आँसु पुछ्ने गरी सरकारले काम गर्नुपर्ने बताए।

‘यदि पक्रिन सक्नुहुन्न भने यो सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ ? ती आमाको आँखाको आँसु पुछ्नुस्,’ उनले भने, ‘जेनजी आन्दोलनमा जो–जो अपराधी छन्, चाहे सत्तापक्षका हुन्, चाहे प्रतिपक्षका हुन्, यिनलाई समाउँदै जेल हाल्नुस्।’