काठमाडौं । भदौ १० गते आएको विनाशकारी भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि बोबक्याटले नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका आवश्यक उपकरण सहयोग गरेको छ।

भोटेकोसी नदीमा आएको बाढीका कारण जनजीवन, घर, सुरुङ तथा महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको अवस्थालाई ध्यानमा राख्दै बोबक्याटको भारतीय कम्पनीले नेपाल सरकारलाई उक्त उपकरण सहयोग उपलब्ध गराएको हो। सहयोग गरिएका उपकरणहरू प्रभावित क्षेत्रमा जारी उद्धार, विपद् व्यवस्थापन तथा पुनःस्थापनाका काममा प्रयोग गरिने जनाइएको छ।
सहयोगअन्तर्गत साना उत्खनन यन्त्र ६ थान, पछाडिबाट समेत चलाउन मिल्ने उत्खनन तथा लोडर यन्त्र २ थान, माटो तथा निर्माण सामग्री सार्ने विशेष यन्त्र ३ थान र प्रकाश व्यवस्थापनका लागि टावर बत्ती ६ थान उपलब्ध गराइएको छ।उक्त उपकरणहरू बाढीबाट भत्किएका संरचना तथा भग्नावशेष हटाउने, उत्खनन गर्ने, अवरुद्ध सडक तथा पहुँचमार्ग खुलाउने र पुनःस्थापना तथा पुनर्निर्माणका अन्य आकस्मिक काममा प्रयोग गरिनेछन्।
नेपालमा बोबक्याटका अधिकृत विक्रेता एफ.जी. इन्कर्पोरेटेड प्रालिको सहकार्यमा उपकरणहरू आवश्यक सेवा तथा तयारी पूरा गरी परिचालनका लागि तयार पारिएको जनाइएको छ। उपकरण हस्तान्तरण कार्यक्रममा कम्पनीका अध्यक्ष पवनकुमार गुप्ता, एफ.जी. इन्कर्पोरेटेड प्रालिका प्रबन्ध निर्देशक केदार लामिछाने, कम्पनीका निर्देशक पारितोष गुप्ता तथा विपिन लामिछानेलगायतको सहभागिता रहेको थियो। उनीहरूले संयुक्त रूपमा नेपाल सरकारका माननीय गृहमन्त्रीलाई उक्त उपकरण हस्तान्तरण गरेका थिए।
उपकरण हस्तान्तरणसँगै बोबक्याटले नेपाल सरकारसँग विपद् उद्धार, राहत, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणका क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ। विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले नेपालमा जारी उद्धार, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोग गर्ने जनाएको हो।

