८ आश्विन २०८३, बिहिबार 1790272233
समाचार

दाङका पाँच सडक खण्ड राति बन्द हुने

काठमाडौँ : भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले दाङका पाँच प्रमुख सडक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङले २०८३ असोज ८ गतेदेखि लागू हुने गरी हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म दाङसहित देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनका अनुसार राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-कपुरकोट सडक खण्ड, भालुवाङ-चकचके (प्युठान)सडक खण्डको भालुवाङदेखि गनाहा खोलासम्म, शहीद मार्गअन्तर्गत घोराही-होलेरी सडक खण्ड, घोराही-मुर्कुटी सडक खण्ड, तुलसीपुर-सुर्खेत सडक खण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्म रातिको समयमा आवागमन बन्द हुनेछ ।

सम्भावित बाढी, पहिरो तथा सडक अवरोधबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले सम्बन्धित सबैलाई तोकिएको समयमा यी सडक खण्डमा यात्रा नगर्न आग्रह गरेको छ ।

सडक तथा मौसमको अवस्थाअनुसार जोखिमपूर्ण क्षेत्रमा थप आवश्यक सुरक्षा तथा व्यवस्थापनका काम अघि बढाइने प्रशासनले जनाएको छ । आकस्मिक अवस्थाका लागि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) को १२३४ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेसँग ९८५७८०७७७७ र जिल्ला प्रहरी कार्यालय दाङसँग ९८५७८०५५५५ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।