९ आश्विन २०८३, शुक्रबार 1790323663
Banner

अविरल बर्षाका कारण काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प

काठमाडौंः काठमाडौँ आवतजावत गर्ने सबै मुख्य राजमार्ग पहिरोले अवरुद्ध भएका छन्। बिहीबार दिउँसैदेखि निरन्तर परिरहेको वर्षाको कारण पृथ्वी राजमार्ग, कान्तीलोकपथ र बीपी राजमार्गमा आवतजावत ठप्प बनेको हो।

धादिङको कृष्णभिरसहित आधा दर्जनभन्दा धेरै स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ। कृष्णभिरसहित सात ठाउँमा गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

बिहीबार साँझदेखि रातभर आवतजावतमा रोक लगाइएको पृथ्वीराजमार्गमा शुक्रबार बिहान ५ बजेदेखि गाडी सञ्चालन गर्न दिने तयारी स्थानीय प्रशासनको थियो। तर, अब यो राजमार्ग अनिश्चित कालको लागि बन्द भएको प्रहरीले जनाएको छ।

प्रहरीकाअनुसार पहिरो पन्छाउने प्रयास भैरहेपनि निरन्तरको वर्षाका कारण समस्या भएको छ। भदौ १४ गते त्रिशूली नदीको काटानको कारण कृष्णभिर क्षेत्रको सडक भासिएपछि दुई साता लगाएर डाइभर्सन बनाएर यातायात सन्चालन गरिएको थियो। सोही डाइभर्सनसहितका ठाउँमा पहिरो झरेको हो। कान्तिलोकपथ र बीपीराजमार्ग पनि पहिरोले बन्द हुँदा आवतजावत पूर्णरूपमा रोखिएको प्रहरीले जनाएको छ।