काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन् ।
महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले भने, ‘म हिमालयको काखमा रहेको नेपालबाट एउटा गम्भीर चेतावनी बोकेर आएको छु- यो चेतावनी केवल नेपालका लागि मात्र नभई सम्पूर्ण मानवताका लागि हो ।’
सम्बोधनका क्रममा उनले विकास, लोकतन्त्र, शान्ति र युवा पुस्ताको आशाबारे मात्रै चर्चा गर्न चाहेको भए पनि देशमा हालै आएको ठूलो विपद्का कारण मृत्यु र विनाशको पीडा बोल्न बाध्य भएको बताए ।
‘म आज ती परिवारका बारेमा बोलिरहेको छु, जसले आफ्ना प्रियजन गुमाएका छन् वा कहिल्यै नफर्कने आशामा पर्खिरहेका छन्,’ उनले भने, ‘हिलो, चट्टान र बाढीका बीच आफ्ना आफन्त खोजिरहेका समुदायको पीडा व्यक्त गरिरहेको छु, जहाँ कतिपयका शव समेत कहिल्यै फेला नपर्न सक्छन् ।’
केही मिनेटको बाढीपहिरोले पुल, सडक, विद्यालय, घर र मानिसहरूको जीविकोपार्जन एकाएक बगाएको उल्लेख गर्दै प्रधानमन्त्री साहले दिगो विकासको लक्ष्यतर्फ अघि बढिरहेको नेपाललाई यस विपद्ले ठूलो धक्का पुर्याएको बताए ।
हिमाली समुदायलाई तहसनहस बनाएको यो विनाशकारी घटनालाई ‘माउन्टेन सुनामी’ वा ‘हिमालयन सुनामी’को रूपमा चित्रण गर्दै साहले भने, ‘भोटेकोसी-त्रिशूली विपद् केवल स्थानीय त्रासदी मात्र थिएन, यो जलवायु संकटबारे विश्वका लागि एउटा ठूलो चेतावनी थियो । के तपाईंहरूले त्यो चेतावनी वास्तवमै सुन्नुभएको छ ?’
करिब तीन वर्षअघि सगरमाथाको आधार शिविर नजिकै उभिएर संयुक्त राष्ट्रसङ्घका महासचिवले मानवतामाथि आइरहेको जलवायु संकटबारे चेतावनी दिएको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, ‘विश्वकै छानोबाट आएको त्यो पुकार पर्याप्त रूपमा सुनिएन । वैज्ञानिकहरूले प्रमाणसहित चेतावनी दोहोर्याए पनि राजनीतिक नेतृत्वले त्यसलाई आवश्यक गति र ठोस कार्यमा रूपान्तरण गर्न सकेन ।’
गत महिना नेपालले भोगेको दुःखद परिणाम त्यसैको नतिजा भएको बताउँदै उनले थपे, ‘जलवायु परिवर्तनले संवेदनशील हिमालयको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ । पग्लिँदो पर्माफ्रस्ट (स्थायी तुषारो)ले हिमाली भिरालो भागलाई चिरा पारिरहेको छ भने हिमनदीमुनिका संरचना कमजोर भई बरफ र चट्टानको पहिरो जाने जोखिम बढाएको छ ।’
प्रधानमन्त्री साहले हिमालयमा देखिएका यी संकट नेपालको मात्र नभई सिङ्गो विश्वकै साझा चुनौती भएकाले तत्काल ठोस विश्वव्यापी कदम चाल्नुपर्नेमा जोड दिए ।

