९ आश्विन २०८३, शुक्रबार 1790358341
समाचार

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। आज बिहान १०ः०० बजे गरिएको जलसतह मापनअनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९८ हजार २२० क्युसेक पानीको बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए।

दिउँसो १ः०० बजे पानीको बहाव प्रतिसेकेन्ड दुई लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएकामा दिउँसो २ः०० बजे पानीको बहाव दुई लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए। उनका अनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ।

जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताए। त्यस्तै, तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको बहाव निरन्तर बढिरहेको सूचना अधिकारी खड्काले बताए । कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका छन्।