१२ आश्विन २०८३, सोमबार 7:09 am
Banner

बाढीपहिरोका कारण २१ जनाको मृत्यु

काठमाडौं । भारी वर्षापछि बाढी र पहिरोका घटनामा २१ जनाको मृत्यु भएको छ । यस्तै, पाँचजना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका ५३ घटनामा सातजनाको मृत्यु भएको छ। पहिरोका २५६ घटनामा १४ जनाको मृत्यु, चार जना घाइते र पाँच जना बेपत्ता भएका छन् ।

बंगालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको हो । बाढी र पहिरोका कारण देशभर १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ ।

विपद्का कारण ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ । जोखिममा परेका विभिन्न जिल्लाबाट करिब दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

निरन्तर वर्षाका कारण देशभरका १८६ वटा वर्षामापन केन्द्रमा सय मिलीमिटरभन्दा बढी वर्षा मापन भएको छ । सबैभन्दा धेरै नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को डेढगाउँमा ५४४ दशमलव दुई मिलीमिटर वर्षा भएको छ ।

कास्कीको पञ्चासेमा ५००।२ र तनहुँको अत्रौलीटारमा ४७२ मिलीमिटर वर्षा मापन गरिएको प्राधिकरणले जनाएको छ ।