१२ आश्विन २०८३, सोमबार 11:55 am
अर्थ

विश्व पर्यटन दिवसमा होटल व्यवसायी महासंघको राष्ट्रिय डिजिटल साक्षरता अभियान शुभारम्भ

काठमाडौं । ४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासंघ नेपाल (HPFN)ले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि ‘National Digital Literacy Campaign for the Hotel and Restaurant Industry’ अर्थात् राष्ट्रिय डिजिटल साक्षरता अभियानको शुभारम्भ गरेको छ।

नेपाल सरकार, बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव श्रीमान दिपेन्द्र सुवेदी ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो। नेपाल उद्योग ब्यापार महासंघका वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्त, नेपाल पर्यटन बोर्डका योजन तथा अनुगमन प्रमुख लक्ष्मण गौतम, पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवन पोखरेल, होटल व्यवसायी महासंघ नेपालका पूर्वअध्यक्ष अमृतबहादुर भुजेल तथा भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलिया लगायत पर्यटन तथा निजी क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश तथा जिल्ला संघका प्रतिनिधि, आबद्ध संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, होटल तथा रेस्टुरेन्ट व्यवसायी, सञ्चारकर्मी एवं पर्यटन क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। साना तथा मझौला व्यवसायीको क्षमता अभिवृद्धिमा मन्त्रालयको साथ रहने भन्दै कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिवले नेपालको आतिथ्यता क्षेत्रको समग्र रूपान्तरणका लागि साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धि र व्यावसायिक सशक्तीकरण अपरिहार्य रहेको बताउनुभयो।

उहाँले साना तथा मझौला व्यवसायीको क्षमता विकास र प्रविधिको व्यावहारिक प्रयोग विस्तार नभएसम्म नेपालको आतिथ्यता क्षेत्रलाई समयानुकूल र प्रतिस्पर्धी बनाउन चुनौती रहने उल्लेख गर्दै महासंघले सुरु गरेको राष्ट्रिय डिजिटल साक्षरता अभियानलाई महत्वपूर्ण पहलका रूपमा लिनुभयो। अभियानले व्यवसायीलाई डिजिटल प्रविधिसँग जोड्दै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले यसलाई सफल बनाउन मन्त्रालयको पूर्ण साथ, सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उद्योग वाणिज्य महासंघ र पर्यटन बोर्डको सहकार्यको प्रतिबद्धता
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले होटल व्यवसायी महासंघले अघि सारेको डिजिटल साक्षरता अभियानलाई देशव्यापी रूपमा विस्तार गर्न नेपाल उद्योग वाणिज्य महासंघ सहकार्य गर्न तयार रहेको बताउनुभयो।

उहाँले प्रदेश तथा जिल्ला तहसम्मका व्यवसायीलाई समेटेर तालिम, क्षमता अभिवृद्धि र व्यावसायिक सहकार्यका कार्यक्रम अघि बढाउन दुवै महासंघबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। निजी क्षेत्रका व्यवसायीलाई प्रविधि र नयाँ व्यावसायिक अवसरसँग जोड्ने यस अभियानमा नेपाल उद्योग वाणिज्य महासंघले आवश्यक सहयोग र सहकार्य गर्ने धारणा राख्नुभयो।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्तले पनि निजी क्षेत्रको संस्थागत सहकार्य र व्यवसायीको क्षमता विकासमार्फत पर्यटन तथा आतिथ्यता क्षेत्रको व्यावसायिक विकासमा जोड दिनुभयो। नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले पर्यटन बोर्डले विगतदेखि नै पर्यटन क्षेत्रको प्रवर्द्धन, व्यावसायिक क्षमता अभिवृद्धि तथा विभिन्न पर्यटनसम्बन्धी कार्यक्रमलाई सहयोग गर्दै आएको उल्लेख गर्नुभयो।

उहाँले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि महासंघले अघि सारेको अभियान महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा होटल व्यवसायी महासंघसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न नेपाल पर्यटन बोर्ड तयार रहेको धारणा व्यक्त गर्नुभयो।

महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’को नेतृत्वमा अघि बढाइएको यस अभियानले विशेषगरी साना तथा मझौला होटल र रेस्टुरेन्ट व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्दै ठूला व्यवसायलाई समेत प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको छ। अभियानको मूल उद्देश्य डिजिटल प्रविधिको पहुँचबाट पछाडि रहेका व्यवसायीलाई आवश्यक ज्ञान, सीप र प्राविधिक सहयोग उपलब्ध गराउँदै उनीहरूको दैनिक व्यवसाय सञ्चालन, बजार पहुँच र सेवा प्रवाहमा सुधार ल्याउनु हो अध्यक्ष भण्डारीले बताउनुभयो ।