१४ आश्विन २०८३, बुधबार 6:35 pm
Banner

विशेष महाधिवेशन पक्षधरको उद्घाटनमा देउवा सहभागी हुनुहुँदैन : प्रकाशशरण महत

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूले आयोजना गर्ने कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा सहभागी नहुने स्पष्ट पारेका छन्। गगन थापा नेतृत्वको समूहले असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा महाधिवेशनको आयोजना गर्दै देउवालाई प्रमुख अतिथिका रूपमा निम्त्याउने बताइरहेका बेला महतको यस्तो भनाइ आएको हो।

आज कास्कीस्थित १५औँ महाधिवेशन तयारी समितिको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेता महतले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति भएकाले देउवाले आफ्नै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्ने बताए।

‘विशेष अधिवेशनबाट आएका पदाधिकारीहरूले देउवाजी उद्घाटनमा आउनुहुन्छ भनेर भ्रम फैलाइरहेका छन्। तर १४औँ महाधिवेशनबाट चुनिएका सभापतिले १५औँ महाधिवेशन आफ्नै नेतृत्वमा गरेर मात्र नेतृत्व हस्तान्तरण गर्नुहुन्छ, यसमा कुनै द्विविधा छैन,’ महतले भने।

नेता महतले पार्टीका धेरै नेता-कार्यकर्ता सामाजिक सञ्जालमा सक्रिय नभएका कारण पछिल्लो समय अन्योल सिर्जना भएको दाबी गरे। देशभरका कार्यकर्ताले देउवा विशेष महाधिवेशनमा जान लागेको हो कि भन्दै चासो र चिन्ता व्यक्त गरिरहेको उनको भनाइ थियो।

सोही क्रममा नेता शशांक कोइरालाले कुनै व्यक्ति विशेषलाई ‘नेता’ भनेर दिएको अभिव्यक्तिलाई सन्दर्भभन्दा बाहिर लगेर दुष्प्रचार गरिएको टिप्पणी महतले गरे।

भोलिदेखि वडा अधिवेशन सुरु हुने जानकारी दिँदै महतले आफूहरू सधैँ सत्यको पक्षमा उभिने बताए। विशेष महाधिवेशनसम्बन्धी मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले अदालतबाट न्याय पाउनेमा आफूहरू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे।