१५ आश्विन २०८३, बिहिबार 4:04 pm
समाचार

सवारी दुर्घटनामा ७ जनाको मृत्यु, १२१ जना घाइते

काठमाडौँ : देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन् ।

बिहीबार (असोज १५) नेपाल प्रहरीले बुधबार (असोज १४) सुरु भएदेखि मध्यराति १२ बजेसम्म भएका सवारी दुर्घटनामा उक्त हताहती भएको विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार रौतहट, सुनसरी, सर्लाही, काठमाडौं, कपिलवस्तु र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो ।

साथै, कोशीमा २५, मधेशमा १८, काठमाडौं उपत्यकामा १४, बागमतीमा १४, गण्डकीमा १२, लुम्बिनीमा २१, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा ९ गरी १२१ जना पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा घाइते भएका प्रहरीको विवरणमा उल्लेख छ । घाइतेहरूको स्वास्थ्य अवस्था र उपचारका विषय विवरणमा खुलाइएको छैन ।