१६ आश्विन २०८३, शुक्रबार 11:38 am
Banner

संरचनागत सुधार बिना निगममा नयाँ जहाज भित्र्याउनुको औचित्य छैन : मन्त्री पौडेल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संरचनागत सुधार नगरी नेपाल वायुसेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले निगमको वर्तमान प्रशासनिक ढाँचा र व्यवस्थापकीय कमजोरीमा सुधार नआएसम्म जहाज थपेर मात्रै निगमको साख उकास्न नसकिने दाबी गरेका हुन् ।

निगम लामो समयदेखि राजनीतिक हस्तक्षेप र गलत व्यवस्थापकीय परिपाटीको शिकार बन्दै आएको स्वीकार गर्दै उनले हाल निगम सुधारका लागि आवश्यक र सकारात्मक सरकारी हस्तक्षेपको आवश्यकता रहेको बताए। हाल निगममा देखिएको कानुनी जटिलताका कारण महाप्रबन्धक नियुक्तिको प्रक्रिया अवरुद्ध भएको जानकारी दिँदै उनले भने, ‘महाप्रबन्धक नियुक्तिको प्रक्रियासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले नयाँ महाप्रबन्धक नियुक्तिमा कानुनी अड्चन छ। यस्तो अवस्थामा निमित्त वा अस्थायी जिम्मेवारी दिनुपर्ने हुन्छ। बोर्डले नियमनकारी र व्यवस्थापकीय दुवै भूमिका सम्हाल्दा थप समस्या आउन सक्ने जोखिम छ।’

मन्त्री पौडेलले निगमका सीमित जहाजमध्ये एउटामा समस्या आउँदा उडान पुनःतालिकीकरण र यात्रु व्यवस्थापनमै ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था रहेको उल्लेख गरे। सही समयमा सही निर्णय लिन नसक्ने संयन्त्र र व्यवस्थापकीय दक्षताको कमी निगम सुधारका लागि मुख्य बाधक रहेको उनको टिप्पणी छ।

संरचनागत सुधार, चुस्त व्यवस्थापन र समयमै सही निर्णय गर्न सक्ने संयन्त्रको विकास नै पहिलो आवश्यकता रहेको भन्दै उनले सुधारका लागि आवश्यक कागजात र कार्ययोजना तयार भइरहेको जानकारी दिए। उक्त सुधारको योजना छिट्टै संसदीय समितिमा पेस गरिने र त्यसलाई कार्यान्वयनमा ल्याएपछि मात्रै जहाज थप्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।