काठमाडौं । मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले विद्यार्थी केन्द्रित भव्य मनोरञ्जनात्मक कार्यक्रम ‘एमआईटी एक्स्ट्राभागान्जा २०२६’ आयोजना गर्दैछ।
संगीत, नृत्य, विद्यार्थी प्रतिभा, खानाका परिकार, मनोरञ्जन तथा विभिन्न अन्तरक्रियात्मक गतिविधिलाई एउटै मञ्चमा समेट्दै कार्यक्रम आयोजना गर्न लागिएको हो।

एमआईटीको विद्यार्थी इकाई स्टुडेन्ट क्वालिटी सर्कल (एसक्यूसी) द्वारा आयोजनामा हुने कार्यक्रम असोज १७, २०८३ (अक्टोबर ३, २०२६) मा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म काठमाडौंको एलिस रिसेप्सन्स, गैरीधारामा आयोजना हुनेछ। कार्यक्रममा करिब १,२०० देखि १,५०० जना विद्यार्थी तथा युवा सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय कलाकार सविन राई एन्ड द फ्यारोजको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहनेछ। साथै सिम्फोनिक साम्राज्यको ब्यान्ड प्रस्तुति पनि कार्यक्रमको विशेष आकर्षण बन्नेछ।
यसका अतिरिक्त एमआईटीका विद्यार्थीहरूको सोलो, डुओ तथा समूहगत प्रस्तुति, नृत्य, फुड तथा बेभरेज स्टल, मर्चेन्डाइज तथा प्रमोसनल स्टल, प्रायोजकका विभिन्न गतिविधि, अन्तरक्रियात्मक मनोरञ्जन तथा दर्शक सहभागितामूलक कार्यक्रमहरू समेत आयोजना हुने एसक्यूसी समन्वयक निशान्त घिमिरेले जानकारी गराएका छन्।
दशैंअघि आयोजना हुने विशेष उत्सवका रूपमा परिकल्पना गरिएको एमआईटी एक्स्ट्राभागान्जा २०२६ ले एमआईटी समुदायका विद्यार्थीहरूलाई एकै ठाउँमा भेला भएर रमाइलो गर्ने, आफ्नो प्रतिभा प्रस्तुत गर्ने तथा अविस्मरणीय अनुभव साटासाट गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

