काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल आइतबार नेता–कार्यकर्ताको राजनीतिक जमघटमा मात्र सीमित रहेन । महाधिवेशनमा सहभागीको भीडसँगै विभिन्न ठाउँबाट आएका व्यवसायी तथा सामग्री विक्रेताले पनि आफ्नो उत्पादन र सामग्री बिक्रीका लागि स्थललाई अवसरका रूपमा प्रयोग गरेका छन् ।
महाधिवेशनस्थलमा ढाका तथा स्थानीय सामग्रीबाट बनेका टोपी बेचिरहेका राजु बस्नेतका लागि खुलामञ्चको भीड नयाँ बजार हो ।
उनी अरूले उत्पादन गरेका टोपी किनेर विभिन्न ठाउँमा बिक्री गर्छन् । महाधिवेशनमा सहभागी नेता–कार्यकर्ताले टोपी किन्ने सक्ने अनुमान लगाएर उनी त्यहाँ आइपुगेका हुन् ।
‘मलाई एउटा मान्छेले खुलामञ्चमा जानु, तिम्रो टोपी धेरै बिक्छ भनेर भनेको थियो,’ उनले सुनाए, ‘उहाँले पनि दुईवटा टोपी किन्नुभयो, चिया पनि खुवाउनुभयो ।’ बस्नेतका अनुसार टोपीको मूल्य ग्राहकअनुसार फरक पर्छ । कतिपयले ६ सय रुपैयाँसम्म तिर्छन् भने कतिपयले २–३ सय रुपैयाँमै माग गर्छन् ।
‘मान्छेअनुसार विभिन्न तरिकाका हुन्छन् । कोहीले बूढो मान्छे हो, खाओस् भनेर दया–मायाले पैसा दिन्छन्, कोहीले हुँदैन पनि भन्छन्,’ उनले भने । टोपी बिक्रीबाट मात्रै नियमित आम्दानी गर्न भने कठिन छ । त्यसैले उनी मौसम र अवसरअनुसार काम परिवर्तन गर्छन् । पहिले ज्यामी काम गर्ने गरेका उनी अहिले कहिले गाउँबाट तरकारी ल्याएर बेच्छन, कहिले टोपी, स्विटर, कपडा र छाता बिक्री गर्छन् । महाधिवेशन उनको लागि राजनीतिक कार्यक्रमभन्दा बढी केही दिनको नयाँ बजार बनेको छ ।
महाधिवेशनस्थलमा जुम्लाको स्याउ बेच्न आएका खम्म विश्वकर्माको कथा पनि उस्तै छ । उनले कर्णालीको स्थानीय उत्पादन जुम्लाको स्याउ काठमाडौं ल्याएर बिक्री गरिरहेका छन् ।
‘बोक्यो त के गर्ने, कर्णालीको जुम्लाको स्याउ हो । अर्गानिक स्याउ हो । काठमाडौं आएपछि यस्तै गरेर जीविकोपार्जन गर्नुपर्छ,’ विश्वकर्माले भने ।
उनका अनुसार जुम्लाबाट काठमाडौंसम्म स्याउ ल्याउँदा ढुवानीमै ठूलो खर्च हुन्छ । करिब एक गाडी स्याउ ल्याउँदा २ लाख ४० हजार रुपैयाँसम्म भाडा लागेको उनले बताए । सुरुमा प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री गरेको स्याउ अहिले २ सय ५० रुपैयाँमा बिक्री गरिरहेको उनको भनाइ छ ।
‘फाइदा त खासै हुँदैन । काठमाडौं आइपुग्यो भने फाइदा भए पनि घाटा भए पनि सके–सक्काएरै जानुपर्ने स्थिति आउँछ,’ उनले भने ।
विश्वकर्माका अनुसार उनको परिवारमा छ जना छन् । आर्थिक अवस्था कमजोर भएकाले परिवार चलाउन विभिन्न काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए । हिउँदमा भारत गएर ज्यामी काम गर्ने र अन्य समयमा गाउँमै उपलब्ध काम तथा उत्पादनबाट आम्दानी गर्ने गरेको उनको भनाइ छ ।
महाधिवेशनस्थलमा व्यापारका लागि पुगेकी अर्की महिला भने कांग्रेसका विचार र इतिहाससँग सम्बन्धित पुस्तक बिक्री गरिरहेकी छन् । देवा उपाध्यायले राजनीतिक कार्यकर्ताका लागि अध्ययन आवश्यक रहेको भन्दै कांग्रेससम्बन्धी पुस्तक बिक्रीका लागि ल्याएको बताइन् ।
‘अध्ययनबिनाको राजनीति अधुरो हुन्छ, अपूरो हुन्छ । त्यसले गर्दा सबैले कांग्रेसका न्यूनतम जान्नुपर्ने कुराहरू जान्नुपर्छ भन्ने उद्देश्यले म यहाँ आएको हुँ,’ उनले भनिन् । सामाजिक सञ्जालमा केन्द्रित हुँदै गएको राजनीतिक गतिविधिबीच पुस्तक अध्ययनको महत्त्व रहेको उनको भनाइ छ ।
‘आजभोलि सामाजिक सञ्जालको राजनीति भइरहेको छ । तर पुस्तक भनेको पुस्तक नै हो । पुस्तक पढेजस्तो सामाजिक सञ्जाल हेरेर राजनीति हुँदैन । त्यो केही क्षणिक हो,‘ उपाध्यायले भनिन् ।
उनका अनुसार कार्यकर्ताले सहज रूपमा किन्न सकून् भनेर पुस्तकको मूल्य ३ सय रुपैयाँ राखिएको छ । महाधिवेशन सुरु भएको केही समयमै चारवटा पुस्तक बिक्री भइसकेको उनले बताइन् । पुस्तक बिक्रीबाट आएको रकम व्यक्तिगत आम्दानीका लागि मात्र नभई पुस्तकालय तथा संस्था सञ्चालनमा समेत प्रयोग गर्ने उनले बताइन् ।
यसरी कांग्रेसको महाधिवेशनस्थलमा राजनीतिक बहस र नेतृत्व चयनको चहलपहलसँगै विभिन्न जिल्लाबाट आएका स्थानीय उत्पादन, परम्परागत सामग्री र वैचारिक पुस्तकको बिक्रीसमेत भइरहेको छ । महाधिवेशन कतिपयका लागि राजनीतिक सहभागिताको थलो बनेको छ भने कतिपयका लागि आफ्नो उत्पादन र सीपमार्फत आम्दानी गर्ने अवसर समेत बनेको देखिन्छ ।

