१९ आश्विन २०८३, सोमबार 12:44 pm
समाचार

अरिंगालको झुन्डले बालबालिकामाथि आक्रमण गर्दा २ जनाको मृत्यु, २ गम्भीर घाइते

रौतहट । वीरगञ्जसँग जोडिएको भारतको बिहारस्थित रक्सौलमा अरिंगालको झुन्डको आक्रमणमा परेर दुई बालकको मृत्यु भएको छ । घटनामा अन्य दुई बालक गम्भीर घाइते भएका छन् ।

सीमावर्ती भारतीय बजार रक्सौलको हरैया थाना क्षेत्रअन्तर्गत नेपाली स्टेशन नजिकै गत २ अक्टोबर बिहान पुरानो फुसको घरमा खेलिरहेका चार बालबालिकामाथि अचानक अरिंगालको झुन्डले आक्रमण गरेको थियो ।

आक्रमणपछि चारै जनालाई तत्काल उपचारका लागि रक्सौलस्थित डंकन अस्पताल लगिएको थियो । उपचारको क्रममा आइतबार साँझ लखन कुमार मल्लिक (७)को आइतबार साँझ मृत्यु भएको हो । लखनका बुबा स्वर्गीय इन्दल मल्लिक हुन् भने करणका बुबा विजय मल्लिक हुन् । यसअघि उपचारकै क्रममा करणकुमार मल्लिक (२ वर्ष ६ महिना)को गत शुक्रबार मृत्यु भएको थियो ।

घटनामा अरुणकुमार मल्लिक (४) र रक्कीकुमार मल्लिक (३ वर्ष ६ महिना) गम्भीर घाइते भएका छन् । उनीहरू दुवैको डंकन अस्पतालमै उपचार भइरहेको छ ।

घटनाबारे ‘स्वच्छ रक्सौल’का अध्यक्ष रणजीत सिंहले रक्सौल नगरपालिकाका कार्यपालक पदाधिकारी मनीष कुमारलाई जानकारी गराएका थिए । त्यसपछि नगरपालिकाले मृतक बालकहरूको अन्त्येष्टिका लागि तत्काल ५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको जनाइएको छ ।

घटनाले पीडित परिवारमा गहिरो शोक छाएको छ । मृतक तथा घाइते बालबालिका अति विपन्न महादलित डुम समुदायका रहेको बताइएको छ ।

स्थानीयबासीले पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सरकारी प्रावधानअनुसार राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । साथै, अस्पतालमा उपचाररत दुई बालकको उपचारमा आवश्यक सहयोग र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।