जनकपुरधाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसहमहामन्त्री महेन्द्र यादवले पुनः सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १४औँ महाधिवेशनमा मधेसी क्लस्टरबाट सहमहामन्त्री निर्वाचित भएका यादवले यसपटक पनि सोही क्लस्टरबाट सहमहामन्त्री पदमै उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
आफ्नो उम्मेदवारीबारे स्पष्ट पार्दै यादवले कांग्रेसलाई विचारमा स्पष्ट, संगठनमा सक्रिय, आचरणमा अनुशासित, शासनमा जवाफदेही र जनतासँग निरन्तर जोडिएको पार्टी बनाउने उद्देश्यले पुनः सोही पदमा उम्मेदवारी दिन लागेको बताए ।
उनले लोकतान्त्रिक गणतन्त्र, समावेशिता र समानुपातिक व्यवस्थालाई सुदृढ गर्न, पार्टीलाई एकढिक्का बनाउन तथा बहुदलीय र संसदीय व्यवस्थालाई कमजोर बनाउने प्रयासविरुद्ध कांग्रेसलाई सशक्त बनाउन उम्मेदवारी दिन लागेको बताए ।
यादवले यसअघि पनि सहमहामन्त्री पदमा बसेर काम गरिसकेकाले पुनः अवसर पाए पार्टी र कार्यकर्तालाई एकढिक्का बनाउन सहज हुने दाबी गरे । आफूभन्दा माथिल्लो पदमा उम्मेदवारी दिनुपर्ने सुझावबारे उनले आफू ‘अपग्रेड’ भएर जानुपर्ने भए पनि पार्टीका धेरै सिनियर नेताहरू उपसभापति र महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेकाले उनीहरूको अपेक्षालाई ध्यानमा राख्दै यसपटक पनि सहमहामन्त्रीमै प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताए ।
तरुण दलको केन्द्रीय अध्यक्ष, नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष तथा कांग्रेसको सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेका यादवले आफ्नो राजनीतिक योगदानका आधारमा पनि पार्टीका नेता–कार्यकर्ताले सहयोग गर्ने विश्वास व्यक्त गरे । प्रजातन्त्र पुनःस्थापनाका लागि २०३६ सालदेखि नै संघर्ष गरेको र पटक–पटक जेलनेलसमेत भोगेकाले अहिले देशमा देखिएका समस्या समाधानमा आफ्नो भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
यादव कांग्रेसको मधेसी समुदायबाट राष्ट्रिय राजनीतिमा स्थापित नेता हुन् । उनी लामो समयदेखि कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै आएका छन् । संसदीय र कार्यकारी दुवै भूमिका निर्वाह गरिसकेका यादव संविधानसभा तथा व्यवस्थापिका–संसद्का सदस्यसमेत भइसकेका छन् ।
मधेसी क्लस्टरबाट यसअघि नै सहमहामन्त्री निर्वाचित भइसकेकाले यही पदमा पुनः प्रतिस्पर्धा गर्नु आफ्नो स्थापित राजनीतिक आधारलाई निरन्तरता दिने प्रयास भएको यादवको भनाइ छ । उनका अनुसार कांग्रेसको संरचनामा मधेसी क्लस्टरको सहमहामन्त्री पदले मधेसी समुदायको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण संस्थागत भूमिका राख्छ ।
उनले सहमहामन्त्री पद व्यक्तिगत राजनीतिक हैसियतसँगै मधेसी समुदायको प्रतिनिधित्वसँग जोडिएको पद भएकाले पनि यही क्लस्टरबाट पुनः उम्मेदवारी दिन लागेको बताए ।
पछिल्ला निर्वाचनमा मधेसमा कांग्रेससहित परम्परागत दलहरूले नयाँ राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था बनेको यादवको भनाइ छ । यस्तो अवस्थामा मधेसबाट पार्टीको पदाधिकारी तहमा अनुभव भएको नेताका रूपमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिँदा कांग्रेस र मधेसबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने उनले बताए।

