काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको बताएका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको बताए। अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ।
नेता निधिले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप लगाए। ‘जसले विशेष महाधिवेशन बोलायो, उसैले पार्टी फुटाएको हो। हामीले सुरुदेखि नै प्रक्रियाको कुरा उठाउँदै आएका थियौँ तर त्यसलाई बेवास्ता गरियो,’ निधिले भने, ‘पुराना पुस्ताका नेताहरूले अझै पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्, त्यसैले हामीले अझै मिहिनेतका साथ नयाँ कार्यदिशा तय गर्नुपर्छ।’
विशेष महाधिवेशन र त्यसपछि विकसित घटनाक्रमले कांग्रेसलाई जोड्न नसक्ने भन्दै उनले अब नयाँ ढंगले पार्टी संगठनलाई अघि बढाउनुपर्नेमा जोड दिए। ‘हामीले आफ्नो घरलाई अझ मजबुत बनाउनुपर्छ, गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लागेजस्तै परिस्थिति कहिले कस्तो हुन्छ भन्न सकिन्न तर अहिले हामीले आफ्नो संगठन निर्माणलाई नै प्राथमिकता दिनुपर्छ,’ निधिले भने।
उनले लोकतन्त्र भनेको केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति पनि भएको स्मरण गराउँदै बहुमतले मात्रै पार्टी नचल्ने बताए। निर्वाचन आयोगमा पेश गरिएको तथ्यांकलाई आधार मान्दै आफूहरूसँग ४६ प्रतिशतको बलियो आधार रहेको स्मरण गराए।
आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निधिले कार्यकर्तालाई वार्ड तहबाटै नयाँ ऊर्जाका साथ खटिन निर्देशन दिए। युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिँदै उनले आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिँदै आफू वैचारिक रूपमा अझै सक्रिय रहेको र पार्टी पुनर्निर्माणका लागि प्रतिवद्ध रहेको बताए।
निधिले कार्यकर्तालाई निराश नहुन आग्रह गरे। उनले पञ्चायत कालको उदाहरण दिँदै संगठन बलियो भए जुनसुकै अवरोध पार गर्न सकिने बताए।

