काठमाडौँ । नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ र काठमाडौँस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग बौद्धिक सम्पत्ति र व्यावसायिक विश्वाससम्बन्धी छलफल आयोजना गरिएको छ। गत असोज २० गते भएको कार्यक्रममा नेपालस्थित अमेरिकी वाणिज्य सङ्घका सदस्य कम्पनीहरूका ३० भन्दा बढी कानुनी प्रतिनिधि तथा व्यावसायिक नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो।
छलफलमा नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण, ट्रेडमार्कको सुरक्षा, नवप्रवर्तन तथा व्यावसायिक विश्वास लगायतका विषयमा विचार-विमर्श गरियो। कार्यक्रममा दक्षिण एसियाका लागि अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयका बौद्धिक सम्पत्ति प्रतिनिधि शैलेन्द्र भूमरलकर तथा वरिष्ठ वाणिज्य विशेषज्ञ एवं बौद्धिक सम्पत्ति नीति सल्लाहकार शिल्पी झा सहभागी थिए। उनीहरूले विभिन्न व्यवसायीहरूसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूका अनुभव, समस्या र चासोबारे जानकारी लिएका थिए।
विभिन्न कम्पनीका प्रतिनिधिहरूले ट्रेडमार्कको नक्कल, उपभोक्तामा पर्न सक्ने भ्रम, ब्रान्डको प्रतिष्ठा, स्रोत-कोड चोरी, अमूर्त वस्तु तथा सेवामा लाग्ने कर लगायतका विषय उठाएका थिए। साथै, बौद्धिक सम्पत्तिको संरक्षण तथा कार्यान्वयनमा थप स्पष्टता, पूर्वानुमान गर्न सकिने व्यवस्था, समयमै कारबाही र एकरूपता आवश्यक रहेको उनीहरूको भनाइ थियो।
‘बौद्धिक सम्पत्ति अब केवल कानुनी वा नियामकीय विषय मात्र रहेन,’ नेपालस्थित अमेरिकी वाणिज्य सङ्घका अध्यक्ष कैलाश विजयानन्दले भने, ‘व्यवसायका लागि यो बढ्दो रूपमा विश्वासको विषय बन्दै गएको छ। नवप्रवर्तन गर्न, लगानी गर्न र आफ्नो ब्रान्ड निर्माण गर्न व्यवसायीलाई विश्वासको वातावरण आवश्यक हुन्छ।’
अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयका प्रतिनिधिहरूले बौद्धिक सम्पत्तिसम्बन्धी जनचेतना अभिवृद्धिका लागि कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवालासँग गर्दै आएको सहकार्य र अनुभवबारे जानकारी गराएका थिए। उनीहरूले यससम्बन्धी सहयोग, स्रोतसाधन र अनुदान कार्यक्रमबारे पनि सहभागीहरूलाई स्पष्ट पारे।
पेरिस महासन्धि तथा विश्व व्यापार सङ्गठनको व्यापारसम्बन्धी बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी सम्झौता अन्तर्गत नेपालले गरेका प्रतिबद्धताले बौद्धिक सम्पत्ति संरक्षणका लागि महत्त्वपूर्ण आधार प्रदान गरेको छ। छलफलले यसको संरक्षणलाई थप प्रभावकारी बनाउन जनचेतना, स्पष्ट तथा पूर्वानुमानयोग्य व्यवस्था र कानुनको एकरूप कार्यान्वयनमा जोड दिएको छ।
बौद्धिक सम्पत्तिको बलियो संरक्षण अन्तर्राष्ट्रिय ब्रान्ड र नेपाली व्यवसायबीचको प्रतिस्पर्धाको विषय मात्र नभएको सङ्घले स्पष्ट पारेको छ। प्रभावकारी प्रणालीले नेपाली नवप्रवर्तनकर्ता, उद्यमी, सिर्जनशील क्षेत्र तथा प्रविधि कम्पनीहरूलाई लाभ पुर्याउनुका साथै अन्तर्राष्ट्रिय लगानीकर्ता र स्थापित ब्रान्डहरूलाई समेत सहयोग पुग्ने सङ्घको भनाइ छ।
‘हामी सचेतनाबाट जानकारीतर्फ, जानकारीबाट समाधानतर्फ र अन्ततः समाधानबाट सहकार्यतर्फ अघि बढ्न चाहन्छौँ,’ कार्यक्रमको सहजीकरण गर्दै नेपालस्थित अमेरिकी वाणिज्य सङ्घका कार्यकारी निर्देशक अमिर आर. थापाले भने, ‘हाम्रो उद्देश्य बौद्धिक सम्पत्तिबारे राम्रोसँग बुझ्नु मात्र होइन, अमेरिका-नेपाल व्यावसायिक सम्बन्धअन्तर्गत व्यवसायीहरूलाई नवप्रवर्तन गर्न, लगानी गर्न र आफ्नो व्यवसाय विस्तार गर्न थप विश्वासको वातावरण सिर्जना गर्नु हो।’
यस प्रकारको छलफलले अमेरिकी तथा नेपाली व्यवसाय, अमेरिकी संस्थाहरू र नेपालको नीति तथा नियामकीय प्रणालीबीच समन्वय र सहकार्य कायम गर्न नेपालस्थित अमेरिकी वाणिज्य सङ्घले निर्वाह गर्दै आएको भूमिकालाई थप स्पष्ट गरेको छ। यसले व्यापार, लगानी, नवप्रवर्तन तथा अमेरिका-नेपालबीचको व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

