२२ आश्विन २०८३, बिहिबार 4:51 pm
Banner

नापी अधिकृत वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : छुट जग्गा दर्ताको सिफारिससहितको फाइल सम्बन्धित कार्यालयमा पठाउन सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस लिएको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछा पोखरीका टोली प्रमुखसमेत रहेका वलीविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

वलीले छुट जग्गा दर्ताको सिफारिससहितको मिसिल फाइल र आवश्यक कागजात भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउन तथा दर्ता प्रक्रियामा सहजीकरण गर्न सेवाग्राहीसँग घुस मागेको आयोगको आरोप छ।

सेवाग्राहीलाई अनावश्यक सास्ती र हैरानी दिँदै घुस मागिरहेको उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले वलीलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा वलीले छुट जग्गा दर्तासम्बन्धी फाइल भूमि प्रशासन कार्यालयमा पठाइदिने र दर्ताको काममा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १० लाख रुपैयाँ माग गरी लिएको पुष्टि भएको आयोगले जनाएको छ। आयोगले वलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १० लाख रुपैयाँ बिगो कायम गरेको छ।

सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र दफा ३ को उपदफा (१) बमोजिम बिगो बराबर जरिवानाको सजाय मागदाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।