काठमाडौँ : जनमत पार्टीले विशेष समिति गठन गर्दै समितिका पदाधिकारीहरूसमेत चयन गरेको छ। दोस्रो महाधिवेशनबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकले उक्त विशेष समिति गठन गरेको पार्टीका अध्यक्ष डा. सीके राउतले जानकारी दिएका छन्।
गठित समितिअनुसार केन्द्रीय अनुशासन समितिको संयोजकमा उपाध्यक्ष नरेन्द्र चौधरी चयन भएका छन्। उक्त समितिको सचिवमा अनिताकुमारी मण्डल र सदस्यमा सत्यनारायण खङ्ग खत्वे रहेका छन्। त्यस्तै केन्द्रीय पुनरावेदन समितिको अध्यक्षमा सञ्जयकुमार मिश्र, सचिवमा प्रियंकाकुमारी सन्त र सदस्यमा विरेन्द्र महतोलाई चयन गरिएको छ।
सञ्जयकुमार सिंहको अध्यक्षतामा पाँच सदस्यीय केन्द्रीय निर्वाचन समितिसमेत गठन गरिएको छ। उक्त समितिको सदस्य सचिवमा राजेशकुमार मण्डललाई राखिएको छ। शिवनाथ पटेलको संयोजकत्वमा केन्द्रीय विवाद समाधान समिति गठन गरिएको छ, जसको सचिवमा दुष्यन्त कर्ण रहेका छन्।
यसैगरी राजेशप्रसाद साहको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गरिएको छ, जसको सचिवमा श्यामशङ्कर चौरसिया रहेका छन्। अन्य विभाग, मोर्चा तथा परिषद्हरू भने गठन गर्न बाँकी नै रहेको अध्यक्ष राउतले बताएका छन्।

