१६ जेष्ठ २०८३, शनिबार 1780150084
कला/साहित्य

नेपाल प्रज्ञा प्रतिष्ठान ६५ वर्ष पूरा गरी ६६ औँ वर्ष प्रवेश

काठमाडौँ- नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान आजदेखि ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गर्दैछ ।

विसं २०१४ असार ९ गते प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानको स्थापना तत्कालीन नेपाल सरकारबाट ‘नेपाल एकेडेमी ऐन, २०१४’ पारित गरी सोही ऐनअनुसार नेपाली साहित्य, कला एकेडेमीको नाममा भएको थियो ।

विसं २०१४ मा गठित यो प्रतिष्ठान २०३१ मा पुनः अर्को ऐनद्वारा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा परिणत भयो । नेपालमा गणतन्त्रको स्थापना भएपछि साविक राजकीय प्रज्ञा-प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत, नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा-प्रतिष्ठानको गठन गर्ने व्यवस्था भयो ।

प्रतिष्ठानले हाल भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शन शास्त्र विधामा प्राज्ञिक कार्य गर्ने उत्तरदायित्व बोकेको छ । नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अनुसन्धानात्मक तथा मौलिक कृतिको सिर्जना एवं प्रकाशन गर्ने, गराउने काम प्रतिष्ठानले गर्दै आएको छ ।