१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 9:46 pm
राजनीति

खगेन्द्र सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

सूचना प्रेस २०८३ आश्विन २७ मंगलबार ००:००, ०९:१३ बजे १ मिनेट पढाइ

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री र उठेका प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्ति अनुसार, उक्त विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, छानबिन निष्कर्षमा नपुग्दासम्म सांसद सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन पार्टीले निर्देशन दिएको छ।

विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुऱ्याउने कार्य, अनुचित दबाव, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयहरूमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ।

साथै, राज्यका सम्बन्धित निकायहरूबाट हुने स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान प्रक्रियामा पार्टीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।