२८ आश्विन २०८३, बुधबार 4:39 pm
समाचार

सवारी दुर्घटनामा ७ जनाको मृत्यु, १३६ जना घाइते

काठमाडौँ : देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १३६ जना घाइते भएका छन् ।

बुधबार (असोज २८) नेपाल प्रहरीले सोमबार (असोज २७) सुरु भएदेखि मध्यराति १२ बजेसम्म भएका सवारी दुर्घटनामा उक्त हताहती भएको विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार मोरङ, सर्लाही, भक्तपुर, तनहुँ, रुपन्देही, बाँके र नवलपरासी पश्चिममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो ।

साथै, कोशीमा २२, मधेशमा २९, काठमाडौं उपत्यकामा १८, बागमतीमा १०, गण्डकीमा ८, लुम्बिनीमा २५, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १६ गरी १३६ जना पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा घाइते भएका प्रहरीको विवरणमा उल्लेख छ ।

घाइतेहरूको स्वास्थ्य अवस्था र उपचारका विषय विवरणमा खुलाइएको छैन ।