१ कार्तिक २०८३, शनिबार 2:45 pm
Banner

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न निर्देशन

काठमाडौं-स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो।

मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र अत्यावश्यक सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन निर्देशन दिएको छ । साथै, आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्री पर्याप्त मौज्दात राख्न भनेको छ ।

सेवा प्रवाहका क्रममा देखिने समस्या र गुनासो तत्काल सम्बोधन गर्न अस्पतालले एक जना सम्पर्क व्यक्ति तोक्नुपर्नेछ । ती व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेलमा पठाउन पनि निर्देशन दिइएको छ ।

मन्त्रालयले दसैँ बिदाभर नागरिकले सहज रूपमा आवश्यक स्वास्थ्य सेवा पाउने सुनिश्चित गर्न निर्देशनको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।