काठमाडौं : बंगालको खाडीमा विकसित हुँदै गरेको चक्रवाती आँधीको प्रभावले आगामी साता नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन् ।
मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा लेख्दै आगामी बुधबारदेखि आइतबारसम्म हुने वर्षाका क्रममा केही स्थानमा २०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्ने सम्भावना रहेको बताएका छन् ।
मैले अध्ययन गरिरहेका मौसम पूर्वानुमानले आगामी अवधिमा केही स्थानमा कुल वर्षा २०० मिलिमिटरभन्दा बढी हुन सक्ने संकेत गरेका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘यसको अर्थ एकै दिनमा त्यति धेरै वर्षा हुन्छ भन्ने होइन । वास्तविक वर्षाको मात्रा, समय र प्रभावित क्षेत्र अझै परिवर्तन हुन सक्छन् ।’
२०० मिलिमिटर वर्षाको प्रभाव कस्तो हुन्छ भन्ने विषय वर्षा हुने समय, स्थान र त्यहाँको मौसमी अवस्थामाथि निर्भर रहने पोखरेलले स्पष्ट पारेका छन् ।
‘मनसुनको समयमा पनि छोटो अवधिमा यति धेरै वर्षा हुनु जोखिमपूर्ण हुन्छ । अहिले धान काट्ने समय हो भने हिमाली क्षेत्रमा धेरै मानिस यात्रा गर्ने अवधि पनि हो । त्यसैले यसको असर अझ गम्भीर हुन सक्छ,’ उनले चेतावनी दिएका छन् ।

