११ कार्तिक २०८३, बुधबार 4:03 pm
समाचार

व्यापारी गुप्ताको हत्या आरोपमा तीन जना पक्राउ

विराटनगर : विराटनगरमा लामो समयदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य अभियुक्त विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम तथा शव व्यवस्थापनमा सहयोग गर्ने दुई जना नाबालक रहेका छन्।

पक्राउ परेका आलम विराटनगर–६ महावीर चोकमा हार्डवेयर गोदाम सञ्चालक हुन्। घटनामा शव ओसारपसार तथा व्यवस्थापनमा संलग्न भएको आरोपमा एक जना १३ वर्षीय भारतीय र अर्का एक जना १६ वर्षीय नेपाली नाबालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

विराटनगर–६ धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका भारतको वाराणसी स्थायी घर भई विगत ४० वर्षदेखि विराटनगरमा बसोबास गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ता गत कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजेदेखि पसलबाट एक्कासी बेपत्ता भएका थिए।

परिवार र आफन्तले खोजी गरिरहेकै बेला कात्तिक ८ गते आइतबार बिहान १० बजे सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलीया खोलाको किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले सो शव हराइरहेका गुप्ताकै भएको पहिचान गरेको थियो।

घटनाको गाम्भीर्यतालाई हेरेर सिन अफ क्राइम अफिसर तथा तालिमप्राप्त कुकुरसहितको विशेष टोली घटनास्थलमा खटाई अनुसन्धान अघि बढाइएको थियो। सूक्ष्म अनुसन्धानपछि प्रहरीले कात्तिक १० गते साँझ ५ बजे हत्यामा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार केही समयअघि विराटनगर–६ मा रहेको माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार अफरोज आलमले चोरी गरेको भनी मृतक गुप्ताले हल्ला फैलाइदिएका थिए। सोही विषयलाई लिएर दुई जनाबीच विवाद सुरु भएको थियो। विवाद बढ्दै गएपछि आलमले गुप्तालाई घरमै बोलाएर फलामको जिआई पाइप प्रहार गरी हत्या गरेको खुलेको छ। हत्यापछि शव लुकाउन र फाल्नका लागि आलमले दुई जना नाबालकको सहयोग लिएर केशलीया खोला किनारमा पुर्‍याएको प्रहरीले जनाएको छ।

प्रहरीले अभियुक्तहरूको साथबाट घटनामा प्रयोग भएका फलामको जिआई पाइप, मृतक गुप्ताले प्रयोग गर्ने १ थान रेडमी कम्पनीको मोबाइल फोन, शव बोक्न र पोको पार्न प्रयोग गरिएको कार्पेट बरामद गरेको छ । पक्राउ परेकाहरूविरुद्ध ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।