१२ कार्तिक २०८३, बिहिबार 10:58 am
समाचार

कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने

काठमाडौँ : कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले शुल्क तिर्नुपर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले बिहीबार सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि टोल शुल्क निर्धारण गरिएको जानकारी दिएको हो।

सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक-फरक शुल्क तोकिएको छ।

सूचनाअनुसार अब कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यसैगरी, मिनी बस तथा मिनी टिपर/ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकले प्रवेशतर्फ २६० रुपैयाँ र बाहिरिने दिशामा २०० रुपैयाँ तिर्नुपर्नेछ।

मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ।