काठमाडौँ : नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलबीच शिष्टाचार भेटवार्ता भएको छ।
शुक्रबार शिक्षा तथा खेलकुद मन्त्रालयमा मन्त्री पोखरल र कार्यवाहक राजदूत मेगन बोल्डिनबीच आपसी शैक्षिक सहकार्य र खेल कूटनीतिबारे छलफल भएको हो। भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे विस्तृत छलफल भएको छ।
विशेष गरी शिक्षा क्षेत्रमा दुई देशबीचको लामो समयदेखिको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ र प्रभावकारी बनाउने विषयमा कुराकानी केन्द्रित रहेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।
कार्यवाहक राजदूत बोल्डिनले भोटेकोसी बाढी र त्यसले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिका नेपालको कठिन परिस्थितिमा सधैं साथमै रहेको र रहनेमा जोड दिए। उनले नेपालको विकासका लागि अमेरिकी सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
मन्त्री पोखरेलले अमेरिकाले नेपालको समग्र विकास, विशेष गरी शिक्षा क्षेत्रमा पुर्याउँदै आएको लामो समयदेखिको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउन सकिनेमा जोड दिए। उनले शिक्षा क्षेत्रमा अमेरिकी सहयोगले नेपालको मानव संसाधन विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए।
मन्त्री पोखरेलले आगामी दिनमा विद्यार्थी र विश्वविद्यालयका फ्याकल्टी मेम्बर तथा प्रोफेसरको एक्सचेन्ज प्रोग्राम कार्यक्रममा विशेष जोड दिनुपर्ने विषय उठाए। उनले यस्ता कार्यक्रमहरूले दुई देशबीचको शैक्षिक सहकार्यलाई थप मजबुत बनाउने बताए।
त्यस्तै, भेटमा खेलकुद कूटनीतिको विषयमा पनि छलफल भएको छ। सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक तथा प्याराओलम्पिक खेललाई लक्षित गर्दै अमेरिकी विशेषज्ञता तालिम, खेलाडी विकास र खेल व्यवस्थापनमा नेपाली खेलाडी तथा प्रशिक्षकलाई कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ।

