काठमाडौं । जिल्ला कारागार कार्यालय डोल्पाबाट सुरुङ खनेर फरार भएका कैदीमध्ये थप दुईजना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ रङ गाउँस्थित एक स्थानीयको घरमा लुकिरहेको अवस्थामा फेला पारेका हुन् ।
कात्तिक १४ गते बिहान ६ बजे कारागारबाट सुरुङ खनेर फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा एक स्थानीयको घरमा लुकिछिपी बसेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका ९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार छन् ।
रोकाय जबर्जस्ती करणीसम्बन्धी कसुरमा आठ वर्ष कैद सजाय तोकिएका कैदी हुन् । परियार नकबजनी चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय पाएका व्यक्ति हुन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका ५ का २८ वर्षीय रेशम राना मंगलबार पक्राउ परेका थिए ।
कारागारबाट फरार भएका आठ जनामध्ये चार जना पक्राउ परिसकेको र बाँकी चारजनाको खोजी कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठोरले बताए ।

