२९ भदौ २०८३, सोमबार 1789406148
Uncategorized

कांग्रेस संस्थापनइतर समूहले छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाउने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५ औं महाधिवेशन प्रक्रियालाई अघि बढाउने भएको छ । संस्थापनइतर समूहले सोमबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरी एकलौटी रुपमा अगाडि बढ्न खोजेको भन्दै आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अघि बढाउने जनाएको हो ।

विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको देखिएको कांग्रेस संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले बताए । उनले असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहका अधिवेशनहरूमा सक्रिय सहभागिता जनाउन पार्टी कार्यकर्ताहरूलाई अनुरोध गरिएको बताए ।

उनले पार्टीको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित रहेको उल्लेख गर्दै उनले आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन अपील समेत गरे । उनले विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्र बनाउन सकिने धारणा राखे । १५ औं महाधिवेशनले पार्टी र देशको राजनीतिक भविष्यको दिशा तय गर्ने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

कोइरालाले कुनै पक्ष असन्तुष्ट वा अलग्गिएको भए पनि समाधानको एउटै उपाय ‘वार्ता’ रहेको र संवादमार्फत मूलधारमा ल्याएर एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिए । केवल अर्को पक्षको तर्क सुनेर नपुग्ने भन्दै उनले आफूहरूले पनि वार्ता र एकताका लागि बारम्बार आग्रह गरेको तर गगन थापा तथा विश्वप्रकाश शर्माहरूले सुनुवाइ नगरेको आरोप लगाए । पार्टीको लाइन र भविष्यलाई सुरक्षित पार्नु आफ्नो काँधको ठूलो जिम्मेवारी रहेको कोइरालाले बताए ।

शेरबहादुर देउवाले गगन थापालाई भेट्न समय नदिएकोबारे सोधिएको प्रश्नमा उनले सभापति देउवाको व्यस्तताका कारण हुनसक्ने तर भेट्नै नचाहेको भन्ने कुरा सत्य नहुने धारणा राखे । पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुनेगरी समाधान खोज्नु अहिलेको आवश्यकता रहेको संस्थापनइतर समूहको निष्कर्ष छ ।