नेकपा (२००६) का संस्थापक महामन्त्री पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका महान् आदर्श हुन् । उनले कम्युनिष्ट पार्टीलाई प्रजातान्त्रिक आन्दोलनसित जोडेर अगाडि बढाउने दूरदर्शी सोच र व्यवहार रहेको देखिन्छ । पुष्पलाल देश र जनताका हितका लागि त्याग,समर्पण र बलिदानी भावनाका साथ आजीवन समर्पित महान् नेता हुन् तर त्यही पार्टीमा पुष्पलाल विरुद्ध नितान्त निजी स्वार्थका लागि अपहत्ते गर्ने पहिले पनि थिए,अहिले पनि छन् र भोलि पनि रहनेछन् ।
मानिसको शरीरमा जीवन तत्व र मरणशील तत्वका बीच द्वन्द्व भएजस्तै कम्युनिस्ट पार्टीमा पनि विपरीत स्वार्थका बीच द्वन्द्व भइरहन्छ । त्यसैले पुष्पलालका विरुद्ध नितान्त निजी र समूहगत स्वार्थमा लम्पट नेताका बीच द्वन्द्व चर्किँदा पुष्पलाललाई २००८ सालमा पोलिटब्यूरोको बहुमतका नाममा संस्थापक महामन्त्रीबाट हटाए । पहिलो महाधिवेशनमा समेत पुष्पलाल विरुद्ध गम्भीर षडयन्त्र गरी महामन्त्री बन्न दिएनन् । यस्ता विषयहरु आफूले गम्भीर शिक्षाका रुपमा लिएको नवौँ महाधिवेशनबाट निर्वाचित एमाले अध्यक्ष ओलीले बताएका थिए । त्यागी नेताहरु आफू मिटाइ पार्टी र आन्लोलनका पक्षको रक्षाका लागि सदा तम्तयार हुन्छन् ।
कपटलालहरु पार्टीलाई ससाना स्वार्थमा खरानी बनाउन उद्यत हुन्छन् । दुई महिनापछि हुने महाधिवेशन सम्म नपर्खिई पार्टी फुटाउँछन् । नेकाको टाङमुनि छिरेर आन्दोलन जोगाउने र समाजवादको आधार तयार गर्ने ढाँेग पनि गर्छन् । केही महिने मन्त्री खान घरमा आगो झोस्छन् , विदेशीको भरिया हुन्छन् ।
पुष्पलाल देश र जनताको उत्थानमा बलिदानी भावनाका साथ संघर्षमा लागि पर्छन्,माक्र्सवादलाई आफ्ना जीवनमा आत्मसात् गर्छन् तर शुष्कलालहरु त माक्र्सवाद मात्र भट्याउँछन् र तिनले मृत आत्माको चीरशान्तिको कामना गर्छन् । शुष्कलाल आत्मकेन्द्रित चिन्तन र चरित्रबाट ग्रसित हुन्छन् । पुष्पलालले आफ्नो नामका पछाडि कहिल्यै जात, थर, धर्म र सम्पदाय उल्लेख गरेनन,त्यस खालको बरव्यवहार पनि गरेनन् तर शुष्कलालहरु जात,भात,नाक,नश्ल, थर र गोत्रमा रमाउन थालेका छन् । पुष्पलाल पठन संस्कृतिमा निर्लिप्त हुने निर्देश दिन्छन् भने शुष्कलालहरु पठन संस्कृतिका दृष्टिले निख्लाम देखिन्छन् । मनको मैलो साबुनले धोएर जाँदैन । गिदीभित्र जमेर रहेको पश्चगामी र अधोगामी लिदी सफा गर्ने अद्भूूत साबुन पठन,पठन र पुनः पठन नै हो भन्छन् पुष्पलाल तर शुष्कलालहरु यसमा शून्यप्राय देखिन्छन् ।
पुष्पलालले कम्युनिष्टहरु वर्ग पक्षधरतामा दृढ हुन्छन् तर सोकल्ड वा ढोँगी कम्युनिष्ट पनि हुन्छ्न् भने । उनले पार्टीका ढोँगी कम्युनिष्टलाई गफाडी भनेका छन् । पुष्पलालले पार्टी भन्नाले सैद्धान्तिक रुपले सबभन्दा चेतनशील अगुवा दस्ता,संगठित र अनुशासनबद्ध मजदुर वर्गको प्रतिनिधिहरुको दल हो भने ।
पुष्पलालले नेपालको समग्र इतिहासका सबै सकारहरुलाई स्वीकार गर्दै अघि बढ्ने उद्घोष गरे । उनले नेता र कार्यकर्ताहरुलाई घमण्डी नहुन,जनमैत्री र स्रष्टामैत्री हुन सल्लाह सुझाए । उनले नेताहरुलाई पठनमैत्री हुन पनि सल्लाह दिएका छन् ।
सदादिन मुख धोएझैँ पार्टीमा शुद्धीकरण अभियान अपरिहार्य रहेको पुष्पलालले बताए र पार्टीमा आलोचना र आत्मालोचनाको पद्धति बसाल्न सुझाए । पार्टी स्थापनाकालदेखि नै पुष्पलाल चरम आर्थिक भौतिक अभाव व्यहोरेको देखिन्छ । उनले भोकभोकै बस्ने अवस्था पनि व्यहोरे । तथापि पुष्पलाल त्याग,समर्पण र वलिदानी भावनाका साथ निष्ठापूर्वक आजीव लागेको देखिन्छ । त्यसैले पुष्पलाल मूलतःकम्युनिष्ट आन्दोलनमा निष्ठापूर्वक लाग्ने आदर्श र अनुकरणीय महान् नेता हुन् ।
कम्युनिष्ट र सोकल्ड कम्युनिष्ट
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका अनुसार नेपाली कम्युनिष्टहरु मूलतः दुई प्रकारका हुन्छन् ।
उहाँले एकथरि सिद्धान्तनिष्ठ,अध्ययनशील,सच्चा,इमान्दार,त्यागी,समर्पित र सतिसालझैँ सय वर्ष लडा,पडा र खडा खालका कम्युनिष्ट हुन्छन्, भने अर्काथरि सोकल्ड, कथित,गफाडी र बौद्धिक विलास गर्ने कम्युनिष्ट हुन्छन् भन्नु भएको छ ।
हुन पनि भातका पछि हत्ते हाल्नेहरु सदासर्वदा भातलाई नै केन्द्रमा राख्छन् तर भविष्यका लागि लागिपर्नेहरु भातलाई भोलि नर्क हुने वस्तु ठान्छन् र तिनले सुदूर तथा सुनौलो भविष्यको हेर्छन् । सच्चा कम्युनिष्ट नेता र कार्यकर्ताहरु आमूल परिवर्तनका मूल आधार हुन,खम्बा हुन् । यिनीहरु जस्तासुकै प्रतिकूल परिस्थितिमा कुनै पनि खाले नितान्त निजी स्वार्थलाई पैतालामुनि दबाएर आन्दोलनको रक्षाका लागि अविरल र अविचल क्रियाशील हुन्छन् ।
कतिपय कम्युनिष्ट पार्टी र त्यसका नेता हुँ भन्छन् तर त्यको ठीक विपरीतका कृत्यमा रमाउँछन् । तिनले यस आन्दोलनको साउँ समेत खान तयार देखिन्छन् ।
पुष्पलाललको अगुवाइमा निर्माण भएको कम्युनिष्ट आन्दोलनको साउँमात्र पनि भजाउन नसकेको देखिन्छ । त्यही साउँ पनि राम्ररी नचिनेर कहिले गद्दार पुष्पलाल भन्थे,कहिले कांग्रेसको पुच्छर भन्थे अनि कहिले दक्षिणपन्थी आदि नानाभाँति भ्रम छर्थे ।
तर सत्य,तथ्य र ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा अहिले अनेक खालका उग्रवादी कम्युनिष्टहरु पुष्पलालको विचारको परोक्ष अनुयायी बन्न खोजेका छन् तर पनि प्रचण्डपथ व्युँताएर आश,त्रास र बतासको राजनीतिमा लाग्ने कुलक्षण पनि प्रदर्शन गर्न खोजिरहेको देखिन्छ । सही बामपन्थी बुद्धि बेलैमा तिनका मन्दबुद्धिमा आइदिएको भए देश र जनताले यति दुःख्ख पाउने थिएन ।
अहिले पनि पुष्पलालको मार्ग अनुसार अहिलेको नेपाली समाजलाई डो¥याउने हो भने वर्गीय संयुक्त मोर्चा नबनाई हुँदैन अनि सरकार बनाउँदा देशभक्त लोकतान्त्रिक शक्तिसित मिलेर राजनीतिक संयुक्त मोर्चा बनाउनु पर्ने हुन्छ तर त्यसमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायण काजी श्रेष्ठ मात्र सकारात्मक भएर हुँदैन ।
सोकल्ड कम्युनिष्टहरु प्रायः हुनेखाने, मध्यम,उच्चमध्यम वर्गका हुन्छन् । तर यस खालका प्रवृत्तिलाई पनि पार्टीका विभिन्न खालका शुद्धीकरण आन्दोलन र अभियानमार्फत् सच्याउन सकिन्छ । पुष्पलालले भनेझैँ सोकल्ड कम्युनिष्टहरु अहिले एमाले पार्टी र मोर्चा संगठनको माथिल्लो तहमा नै भरमार देखिन्छन् । ती मृत आत्माको चिरशान्तिको कामना गर्छन् ।
आफ्नो जिम्मेवारी पूरा गर्न ती उदासीन देखिन्छन् तर केही न केही शुभलाभका निम्ति संगठनमा रुँगेर बसिरहेका छन् ।
ने.क.पा. एमाले पार्टीको सही कम्युनिष्ट नीतिबाट आम जनता प्रभावित नहुँदा हुन् त अनि यही पार्टीले सञ्चालन गरेको उदाहरणीय नौमहिने सरकारले कम्युनिष्टहरु पति फैलाइएका सारा अफबाह लोकप्रिय सरकारी कामबाट निस्तेज नभएको भए अहिले माओवादी नामको पार्टीलाई उहिल्यैदेखि कम्युनिष्टलाई लगाइएका सारा फतुर र आरोप पखाल्दैमा लामो समय बित्थ्यो । बरु मओवादीका उग्रवादी दुस्साहसवादी आम नरसंहारकारी गतिविधिका विरुद्ध एमाले पार्टी परिवार लाग्नु पर्ने हुदा बढी समय त्यसमा खर्चिनु प¥यो । माओवादी केन्द्रकै पाराले त जनताको आन्दोलन बदनाम हुनु बाहेक अरु देखिन्न । यस्ता गतिविधिबाट नेपालबाट कम्युनिष्टलाई उखेल्न कुनै आइतबार पर्खिनु पर्दैन । धन्न एमाले नामको पार्टी छ र यसका बलमा आन्दोलन सुरक्षित रहेको छ । यसले देशको स्वाधीनता,स्वतन्त्रता,सार्वभौमसत्ता सुरक्षित रहन गएको स्पष्ट हुन्छ । अझ यसमा कतिपय एमाले नेतालाई मन नपरे पनि ओलीको अठोट,अडान,अगुवाइ र उचाइ विशिष्ट रहेको छ । तर यस पार्टीको आन्तरिक जीवनमा कुन खालको रत्यौली रहेछ भन्ने कुरा विगत स्थानीय तहको निर्वाचनबाट खुलस्त हुन्छ । निर्वाचनमा अपेक्षित परिणाममा विजय हासिल नहुनुमा पार्टी र यस भित्रका धेरै विसंगतिले काम गरेको स्पष्ट भयो ।
गल्ती गरेपछि त्यसलाई स्वीकार सम्म नगर्ने,ठाडो, ठडौरो,निरङ्कुश परिपाटी हुने हो भने यसले प्रदेश तथा केन्द्रीय निर्वाचनमा पनि नराम्रो असर पर्नसक्छ । हजार सिद्धान्त भन्दा एक व्यवहार प्रभावकारी हुन्छ भनेझैँ मात्र व्यवहारका कारण कतिपय क्षेत्रमा कांग्रेस लगायतका उम्मेद्वारले जिते अनि यही व्यवहोराका अभावमा हजार राम्रा सिद्धान्त भएर पनि एमाले उम्मेद्वार चाहिँ हारे । कालो भादगाउँले टोपी ढल्काएर मदन भण्डारी हुन खोज्ने,पठनका नाममा प पनि नपढ्नेहरु आफूलाई ओलीको अनुयायी ठान्छन् । जनताको मन जितेर नेतृत्व हासिल गर्नुपर्छ भन्ने जबजको मान्यता विपरीत ठाडो, ठडौरो र सानु जंगे प्रवृत्ति तथा अन्तर्मुखी बेहोराका देखाउँछन् अहिले हारको एउटा यो पनि कारण हो । आफ्नै टोल,वार्ड,नगरमा गुमनाम,दुर्नाम र बदनामहरु कसरी आम जनताका बीच लोकप्रिय हुन्छन् र चुनाव जित्छन् ? एमाले पार्टीमा अहिले पनि निकृष्ट गुट भित्रभित्रै परिचालित देखिन्छ । पार्टीका वरिष्ठ उपाध्यक्ष झलनाथ खनालले गुट दासत्व हो भन्नु भएको समाचारमा पढियो तर उहाँ नै गुटगत सिद्धान्त र विचार व्यक्त गर्दै हिँडेको यस लेखकले पाएको छ । उहाँले भनेझैँ अहिले पुँजिवाद नेपालमा आएको हो ? पुँजिवाद आएपछि नेपालमा औद्योगिकीकरण तीव्र हुनु पर्ने होइन ? यस्तो अवस्थामा नेपालमा वेरोजगारी न्यून हुनु पर्ने पनि होइन ? पुँजिवाद आइसकेपछि त समाजवादको यात्रा सुरु गर्नु प¥यो होइन ? के यस्तै निर्णय पार्टीको नवौँ महाधिवेशनले पारित गरेको हो र ? त्यस प्रस्तावमा यस सम्बन्धमा पर्याप्त व्याख्या विष्लेषण गरिएको पाइन्छ ।
नेपालमा राजतन्त्र ढालेको भोलिपल्ट पुँजिवाद आउँछ र ? अर्ध सामन्ती तथा अर्धपुँजिवादी व्यवस्थाबाट रातारात कुन मुलुक पुँजिवादी भएको छ कमरेड ! संसारमा नभएको यस्तो चमत्कार नेपालमा नै भएको हो त ? कुनै प्रणाली,व्यवस्था र पद्धतिको पनि औसत आयु र उमेर हुन्छ, होइन र शिशु र बाल्य अवस्था पार गरेर मात्र तन्न्ोरी अवस्थामा प्रवेश गरिन्छ । अनि नेपालमा पुँजिवादको प्रवेश र बाल्य अवस्थालाई तन्नेरी अवस्था भन्नुको के अर्थ छ ? यो सब व्यर्थ छ । नआएको कुरालाई आएको भन्नु जस्तो ढाँट कुरा गर्नु जस्तो नजाती कुरा केही हुँदैन । यसको अन्तर्य जबजलाई परोक्ष रुपबाट विस्थापित गर्ने षडयन्त्र हो । जब विचार,चिन्तन र दृष्टिकोणमा गुटगत अतिसंकीर्ण धारणा रहिरहन्छ । त्यसले पार्टी भित्र घुसघुस र खुसखुस गरिरहन्छ । पानीको मुहान नै धमिलो पारेपछि तल सङ्लो पानी किमार्थ बग्दैन । पुष्पलाल स्मारक संस्था,पुष्पलाल चोक विराटनगरमा यही श्रावण ७ गते केशवप्रसाद गौतमको अगुवाइमा भएको विचार गोष्ठीमा यस्तै गुटगत विचार पनि सुनियो । तसर्थ पुष्पलाललाई सम्मान र सम्झना गर्नुको अर्थ सच्चा माक्र्सवादी वा कम्युनिष्ट बन्नु हो । सोकल्ड कम्युनिष्ट बन्न पुष्पलालको सतही व्याख्या नै पर्याप्त हुन्छ । तिनलाई सारको दरकार नै पर्दैन ।
लेखक इटहरी निवासी ,एमाले प्रदेश नं. १ का संस्कृति विभाग प्रमुख हुन् ।