८ मंसिर २०८१, शनिबार 1732423676
अर्थ

शेयर बजारमा फेरि गिरावट

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । आइतबार र सोमबार लगातार उकालो लागेको नेप्से परिसूचक आज भने उच्च अङ्कले ओरालो लाग्यो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.८० अङ्कले ओरालो लागेर दुई हजार ८८.१६ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९९ अङ्कले घटेर ३९८.३९ मा ओर्लिएको छ । कूल २२२ कम्पनीको ८७ लाख ४० हजार ५५७ कित्ता शेयर रु तीन अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ २५.२८, व्यापार ५०.५७, होटल तथा पर्यटन ७८.८७, विकास बैंक ११४.४१, जलविद्युत् ४८.३१, वित्त ५२.३४, निर्जीवन बीमा १०३.५१, उत्पादन ९४.१६, अन्य ५७.४९, लघुवित्त ११०.४९, जीवन बीमा १३३.७१, सामूहिक लगानी कोष ०.१९ र लगानी १.७७ अङ्कले ओरालो लागेको छ ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ८१ अर्ब ७६ करोड ३९ लाख २० हजार १६ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १९ करोड ३६ लाख ६७ हजार २६० बराबरको कारोबार भयो । यस्तै, अरुण काबेली पावर कम्पनी रु १५ करोड ५७ लाख आठ हजार ४०३, अरुण भ्याली हाइड्रो पावर रु १० करोड २४ लाख ५० हजार, हिमालयन डिस्टिलरी रु नौ करोड ८० लाख ५९ हजार १९६ र राधी विद्युत् कम्पनी रु आठ करोड ३५ लाख २९ हजार ९५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।