७ मंसिर २०८१, शुक्रबार 1732312600
कृषि

गलकोटमा फस्टाउँदै व्यावसायिक कागतीखेती

छ वर्षअघिसम्म बागलुङको गलकोटमा व्यावसायिक कागतीखेती सुरुआत भएको थिएन । गलकोटको बजारमा अहिले पनि भारतीय र तराइका जिल्लाबाट कागती आयात हुने गरेको छ । गलकोटमा बाहिरबाट कागती आयात भएको देखेपछि गलकोट नगरपालिका–९ छिसका मित्र खरेललाई कागती खेतीप्रति उत्सुकता जाग्यो । कागती खेती आयात प्रतिस्थापन गर्न सकिने उद्देश्यले छ वर्षअघि आफ्नै जग्गामा परीक्षणका लागि उहाँले १०० बोट कागतीका बिरुवा रोप्नुभयो । कागती रोपेपछि खरेलले कागतीखेतीको सम्भावना र जग्गा व्यवस्थापनका विषयमा अध्ययन अवलोकनसमेत गर्न भ्याउनुभयो । उहाँले लगाएका १०० बोटमध्ये ८० बोट कागतीले तीन वर्षमै उत्पादन दिन सुरु ग¥यो ।

कागतीखेतीको परीक्षण सफल भएपछि खरेलको अहिले १० रोपनी जग्गामा ५०० कागतीका बिरुवा छन् । “गलकोटमा भारतबाट कागती आएको देखेँ, कागतीखेती सुरुमै धेरै बिरुवा लगाउन सकिन किनभने परीक्षणकाल थियो, विस्तारै कागतीखेतीको विषयमा बुझ्दै गए, बिरुवा फस्टाउँदै गयो”, किसान खरेलले भन्नुभयो, “अहिले तीन वर्ष भयो ८० बोटले उत्पादन दिन थालेको भने नयाँ बिरुवा थपेर ५०० बोट पु¥याएको छु, पहिलो वर्ष असिनाले खासै उत्पादन भएन, गत वर्ष ४०० केजी कागती पहिलो पटक बिक्री गरेको थिए, अहिले राम्रै फल लागिरहेको छ, ५०० बोटले नै उत्पादन दिन तीन वर्ष अझै लाग्ला ।” खरेलका अनुसार ५०० बोटले कागती उत्पादन गर्न थालेपछि वार्षिक दुईदेखि तीन लाखसम्मको कागती बिक्री गर्ने लक्ष्य छ । उहाँले सानो क्षेत्रबाट कागतीखेती थाले पनि अहिले गलकोटका एक दर्जन किसानले व्यावसायिक कागतीखेती थाल्नुभएको छ । केही वर्षमा गलकोटले कागती निर्यात गर्ने तयारीका साथ धमाधम व्यावसायीक कागतीखेती थालिएको छ । गलकोट–११ रिघाका युवा दानबहादुर श्रीषले गलकोट क्षेत्रकै सबैभन्दा धेरैमात्रामा कागतीखेती गर्नुभएको छ । विसं २०७६ मा बाँझो जमिन खरिद गरेर एक हजार ५०० कागतीका बिरुवा लगाउनुभएका श्रीषको फर्ममा अहिले कागतीले फूल खेल्न थालेको छ । कागतीको सम्भावना अध्ययनपश्चात् ३६ रोपनी जग्गामा तीन वर्षअघि कागतीखेती थाल्नुभएका श्रीषले कागतीका बिरुवा फस्टाउँदै गएपछि दङ्ग पर्नुभएको छ ।

उहाँले आफ्नो कागती फर्ममा आगमी वर्ष व्यावसायिकरुपमा कागती उत्पादन जानकारी दिनुभयो । “झाँडी बन्दै गएको जग्गालाई सदुपयोग गरी कागतीका बिरुवा तीन वर्षअघि मात्रै लगाएको थिए, अहिले कागतीका बोट हुर्कंदैछन्, अहिले सामान्य फल लाग्ने अवस्था छ, अर्को वर्ष व्यावसायिक उत्पादन हुनेमा विश्वस्त छु”, उहाँले भन्नुभयो, “सबै बिरुवाले पूर्णरुपमा उत्पादन दिन थालेमा गलकोटको बजारको कागतीको माग धान्नसक्ने योजना हो ।” तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषि उद्यम गर्ने सोचमा पुगेर युवाले २०७४ सालमा श्रीष कृषि तथा पशु फार्म दर्ता गर्नुभएको छ । गलकोट बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागतीखेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोपेको उहाँको भनाइ छ । कागतीखेतीको प्रोत्साहनका लागि गलकोट नगरपालिकासमेत सक्रिय देखिन्छ । गलकोट नगरपालिकाले सुरुआती चरणमा कागतीका बिरुवा ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको, सिँचाइका लागि व्यवस्थापन गरेको र प्राविधिक सल्लाह सुझाव दिँदै आएको गलकोट नगरपालिका कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गलकोट नगरपालिकाले १०० बोट कागती लगाउने किसानको अभिलेख राख्ने गरेको छ । गलकोटभर २०० भन्दाबढी कागतीका बिरुवा लगाउनेको सङ्ख्या पाँच, १०० भन्दामाथि बिरुवा लगाउनेको सङ्ख्या पाँच र ५० बिरुवा लगाउने किसानको सङ्ख्या १० गरी व्यावसायिक कागतीखेती थाल्ने किसानको सङ्ख्या २० पुगेको छ । “गलकोटमा पछिल्लो समय व्यावसायिक कागतीखेती फस्टाउँदै आएको छ, किसान कागतीखेतीप्रति आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “पालिकाले सक्दो सहयोग गरेको छ, नगरपालिकाले तरकारीमा नै गलकोटलाई आत्मनिर्भर गराउने लक्ष्य लिएको छ, कागतीमा केही वर्षमै आत्मनिर्भर हुनेछ ।” गलकोट नगरपालिका क्षेत्रमा कागती खेतीको राम्रो सम्भावना रहेको छ । समुद्री सतहबाट एक हजार ३०० मिटरसम्म कागतीखेतीको राम्रो सम्भावना देखिन्छ । कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ । कागतीको चुक अमिलो उत्पादन, अमिलो अचारलगायत विभिन्न परिकार बनाउन पनि कागती उपयोग गर्ने गरिन्छ । गलकोट क्षेत्रमा कागती उत्पादन भएमा बागलुङमा भारतबाट आयातित गर्नुपर्ने बाध्यतासमेत अन्त्य हुने कागती खेतीमा लागेका कृषक बताउँछन् । रासस