काठमाडौं । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। उहाँ दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालबाट मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गराउन भूमिका खेल्नुभएका सहायक विदेशमन्त्री डोनाल्ड लु को नेपाल भ्रमणलाई चासोका रुपमा हेरिएको छ।
लु ले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसके पनि अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे जानकारी बाहिर ल्याइएको छैन।
प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमण रद्द भएपछि लु नेपाल आउन लाग्नुभएको हो । यसअघि लु नेपालमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन हुनुअघि गत वर्षको मंसिर १ गतेदेखि ४ गतेसम्म नेपाल आउनुभएको थियो । एमसीसी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन काठमाडौंमा आएर राजनीतिक र कूटनीतिक दौडधूप समेत गर्नुभएको थियो । साथै नेपालका शीर्ष नेताहरूलाई फोन समेत गरेर एमसीसी अनुमोदनको प्रक्रिया अगाडि बढाउन पनि उहाँले आग्रह गर्नुभएको थियो ।