९ मंसिर २०८१, आइतबार 1732434086
समाचार

ज्येष्ठ नागरिकले बडादशैँ मनाउन १० हजार रुपैयाँ भत्ता पाउने

ललितपुर : ललितपुर महानगरपालिकाका ज्येष्ठ नागरिकले बडादशैँ मनाउन १० हजार रुपैयाँ भत्ता पाउने भएका छन्। ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो। 

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँताका वर्षको एकपटक १० हजार दिने निर्णय गरेको बताए। ‘यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ’, उनले भने, ‘उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस्तो व्यवस्था गर्न लागेका हौँ।’

महानगरपालिकाले गत वर्षसम्म पाँच हजार रुपैयाँ दिने गरेकामा यो वर्ष पाँच हजार थप गरी १० हजार रुपैयाँ दिने भएको महर्जनले जानकारी दिए। महानगरपालिकामा लगभग सात हजार ज्येष्ठ नागरिक रहेका बताइएको छ। 

सेवा र रेखदेखमा खटिने मानिस अभाव भएका ज्येष्ठ नागरिक बिरामी परे मेडिकल समूह गठन गरी घर–घरमा उपचारका लागि पठाउने विषयतर्फ पनि ध्यान दिने महर्जनले बताए।