७ मंसिर २०८१, शुक्रबार 1732323673
Banner

नेपालीकरण भर्सेज सिक्कीमीकरणको निर्णय गर्ने दिनः मङ्सिर चार

मङ्सिर चारमा चुनाव हुँदै छ । यो चुनाव चानचुने चुनाव होइन । यो देशलाई एउटा देशैका रूपमा जोगाउने कि एउटै प्रदेशमा मात्र खुम्च्याउन दिने भन्ने चुनाव हो । मुख्यमन्त्री सरहको प्रधानमन्त्री हुन दिल्लीको दैलामा ‘जी हजुरी’ लगाउने वनमान्छे छान्ने कि संसदमा ‘सत्यमेव जयतेको हुङ्कार’ गर्ने साँच्चैको घरमान्छे छान्ने भन्ने चुनाव हो यो ! देशको नक्सा चुच्चो पारिरहने कि त्यसलाई ताछेर बुच्चो पार्न दिने भन्ने चुनाव हो यो !

अँ, मांसाहारीलाई रेफ्री बनाएर सत्ताको शाकाहारी (लोकतान्त्रिक) खेल शान्तिपूर्ण ढङ्गले कदापि खेलिँदैन तर काङ्ग्रेस त्यै खैल खेल्न चाहन्छ । शान्ति र अमन चैनलाई ठेँगान लगाएर हिंसाको पुनर्जागरणका अभियानमा सफल हुन्छु भनेर हिडेका हुँडारहरू होउन् वा पत्नीलाई प्रधानमन्त्री बनाउने भोक र आफू सातपटक सत्ता चढ्ने काजीका पाजी सपना होऊन् त्यो सबै भर्सेला परोस् ! तर यही भोकमा मुलुकमा फेरि हिंसाले फणा उठाउने स्थिति आउन दिने कि नदिने भन्ने कुरोको छिनोफानो मङ्सिर ४ गते गर्नैपर्ने छ । फेरि नयाँ शब्दजाल फ्याँकेर मुलुकमा पुनः हिजोका जस्ता दुर्दान्त घटना घटाउने गरी हाम्रा हात अपराधीहरूलाई जिताउन अगाडि नसरून् भन्नेतर्फ सचेत हुनु जरूरी छ ।

हामी नेपालीहरूको हिजोको कुरो तुरुन्तै बिर्सने बानी छ, खबरदार, मतदाताहरू हो !!! यो मङ्सिर ४ गते मतदानमा जानुपूर्व यो कुरा बिर्सौँला नि ! उहिले ५२ साल पूर्व संसद्मा हुँदा खाँदाको तेस्रो पार्टी छाडेर बुरुक्क ऊफ्रँदै संसदीय व्यवस्था अन्त्यका लागि मच्चाएको हत्या भुलौँला नि फेरि ! हिंसापश्चात् पुनः उही संसदको तेस्रो पार्टी हुन १७ हजारको हत्या र यत्रो विध्वंश किन मच्चाइएको थियो त्यसको औचित्यको हिसाब माग्न भुसुक्कै बिर्सौँला नि । मुलुक लुटी निरन्तर अद्यावधिसमेत घरबेटी र घरपुत्रपुत्री पोस्ने कुकर्म भुलौँला नि । सत्तापक्ष र विपक्षमा रहेर टीकापुरको नरसंहार मच्चाउने मतियार को को हुन् ती अहिले किन एकै ठाउँमा छन् ? त्यो बिर्सौँला नि ! । गौर कान्डमा मार्ने र मारिनेहरू अहिले किन एउटैथालमा जुठो लपालप चाट्दै छन्, त्यो पनि भुलौँला नि फेरि ! मुक्तिनाथ मार्ने र मैना सुनार मार्न आदेश दिने दुवै पक्षले अहिले के नाताले लोकतन्त्रको एउटै ढोलक ठटाउँदै छन् त्यो पनि बिर्सौँला नि फेरि ! जनवादको चक्लेटको खोस्टोभित्र राखिएको परिवारवादी बिस्टाको दुर्गन्ध बिर्सौँला नि ! लाडकूका नाममा देशको ढुकुटी सुकुटी बनाएको बिर्सौँला नि है । जनमुक्तिका नामको घडाभित्र राखिएको जनहत्याको हलाहल विष पिउनु पर्दाको पीडा भुलौला नि ! तराईबाट पहाड लखेट्न लाउने अपराधीलाई बिर्सौला नि है । पहाडबाट तराई टुक्राउन लगाउन सुपारी लिने मतियारलाई नचिनौला नि । हामीले नेपालको तराई सीमा तिलाठीमा लाठी लिएर नेपाली सीमा जोगाउने आदिबासी धर्तीपुत्र तराईबासीलाई बासी देख्न थालेका थियौँ नि त्यो कुविचार फेरी उम्रेला नि ! पारिबाट आउँदाआउँदै सीमानामै नागरिकता प्रमाणपत्र दिन हतारिएको र तिनैलाई साजी र खाँटी नेपाली देख्नेलाई भोट हालौँला नि फेरि ! मतदान केन्द्रभित्र पस्दा एमसिसीको दुर्दान्त तात्तातो नाटक हेर्दाहेर्दा फुलो परेका आँखाले धमिलो धमिलो देख्ला र बिताउला नि फेरि ! । नागरिकताका नाममा गनाउने नौटङ्की पनि बिर्सौँला नि फेरि !

कम्तीमा पनि यही बिचमा मुलुकमा यी तमाम विकृतिहरूलाई मत्थर पार्ने भएका काम पनि एकपल्ट संझौँ । नेपालले नाकाबन्दीको कहिल्यै सामना गर्नु नपर्ने गरी नेपाल भूजडित बनेको कुरो मनन गरौँ । लिपुलेकमा सिङ्गो मुलुकलाई एकै ठाउँमा ल्याउने राष्ट्रिय सहमतिलाई छातीमा राखौँ । सुरुङ्मार्ग लगायत भूकम्पले ढलेका धरहारा जस्ता राष्ट्रिय सम्पदाको युद्धस्तरको पुनर्निर्माण संझौँ । काठमाडौँको फोहोर, खाल्टाखुल्टी धुलोको समाधान गरेको कुरो पनि याद गरौँ । इटाभट्टमा जिउँदै मान्छे पोल्नेलाई थुनेर मुलुकमा कानुनी शासनको प्रत्याभूति भएको कुरो पनि सम्झौँ । उत्तर र दक्षिणको छिमेकीसँग सन्तुलित, मर्यादित र राष्ट्रिय स्वाभिमान सहितको कूटनीतिक सम्बन्धलाई संझौँ ।

हिजो सत्ताका आडमा र विदेशीका इसारामा दायाँ बायाँ आफै बसेर हिंसा मच्चाई दिनुसम्म दिएको दुख नभुलौँ । नेपाली काङ्ग्रेस (प्रचण्ड) का रूपमा अनुवाद हुन लागेको लोकतान्त्रिक काङ्ग्रेसलाई लोप हुन नदिनका लागि सच्चा काङ्ग्रेसले ‍एकपल्ट ध्यान गरेर मनन गरौँ । काङ्ग्रेसका उमेदवार भएका ठाउँमा काङ्ग्रेसलाई मत देऔँ, ठिकै छ ! तर लोकतन्त्रका पहरेदार काङ्ग्रेसजनले र सच्चा लोकतन्त्रवादीले आफ्ना उमेदवार नउठेका ठाउँमा शान्तिका पक्षमा मतदान गर्न नभुलौँ । त्यसो गर्न सक्नुहुन्न भने सकेसम्म हिंस्रकलाई मतदान नगरौँ ! किनकि “देउवाजी” बाहिर बाहिर लोकतन्त्रको एकादशी उपास्ने शाकाहरी दललाई भित्रभित्र जङ्गली बँदेलको मासु र रक्सीको कुलत लगाइरहनु भा,छ ! त्यो कुलतबाट सात्विक काङ्ग्रेसजन सतर्क हुने बेला छ । काङ्ग्रेसको “जय नेपाल” को नारालाई “भाग शान्ति जय नेपाल” मा अनुवाद गर्ने कि नगर्ने भनेर सच्चा काङ्ग्रेसी जनले सोच्ने बेला पनि छ ।

स्मरण रहोस्ः यो एमाले र गठबन्धनको मात्र चुनाव होइन ! यो चुनाव नेपालमा शान्ति र अमन चैन भर्सेज अशान्ति र अराजकताको चुनाव हो । यो नेपालीकरण भर्सेज सिक्किमीकरणरफिजीकरणको चुनाव हो । यो चुनाव विदेशीका लागि कम्फर्टेबल कि नेपालीहरूका लागि आत्मसम्मान भन्ने मुद्दासँग सरोकार भएको चुनाव हो । अहिले मुलुकमा विभिन्न सशस्त्र समूहका पसल थापेर मुलुकलाई वर्वाद पार्न पल्केकाहरू फेरि जाग्न सक्छन् ! ख्याल गर्नुस् है ! यो राष्ट्रियता भर्सेज भ्रष्टीयताका बिचको चुनाव हो । माओवादी व्यक्तिहत्याको मलमूत्रमा तराईमा कीरासरी जन्मेका सशस्त्र समूहलाई समेत निशस्त्र पार्ने र मुलुकलाई २०७४ – ०७७ को अवधिमा सिके र विप्लवलाई समेतलाई हतियार बिसाउन लगाई मूल प्रवाहमा ल्याई मुलुकलाई हिंसामुक्त बनाउने बिचको चुनाव हो । नेपालको राष्ट्रिय अखण्डता र नेपालको खण्डखण्डता बिचको महाभारतीय लडाइँको चुनाव हो । अस्तु !!!