काठमाडौं । बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग झण्डै डेढ घण्टा छलफल गर्नुभएको छ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट अध्यक्ष ओलीको साथमा संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपाध्यक्ष विष्णु पौडेल सहभागी हुनुभएको थियो ।
प्रतिपक्षसँग सल्लाह नगरी कानुन निर्माणलगायत दीर्घकालीन महत्वका निर्णयमा सरकारले एकलौटी गरिरहेको भन्दै एमालेले आपत्ति जनाइरहेको छ ।
भेटमा एमाले अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गर्नुभएको बालुवाटार स्रोतले बताएको छ । सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको निष्कर्ष ननिस्किएका बेला देउवा ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गठबन्धनको सिट बाँडफाँटसम्बन्धी बैठक बुधबारै साँझ ५ बजे पुनः बस्दैछ ।