काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले उक्त कमिटी बनाएको हो । कमिटीमा ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन गरिएको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष ओलीले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर निर्वाचनमा होमिने र विजय हासिल गर्ने अठोटका साथ लाग्न निर्देशन दिएको उहाँले बताउनुभयो ।
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, जनसंगठनका अध्यक्ष र महासचिव तथा पार्टीको केन्द्रीय विभागका सचिवहरू छन् ।