३ भदौ २०८३, बुधबार 1787143661
Banner

सर्वोच्चले माग्यो महानगर प्रमुख साहसँग लिखित जवाफ

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहसँग अदालतको अवहेलना मुद्दामा जवाफ माग गरेको छ ।

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले महानगर प्रमुख साहसँग अवहेलनामा सजाय नहुनुपर्ने कारणसहित सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो ।

अधिवक्ता दीपकराज जोशीले दायर गर्नुभएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कार्कीले सो आदेश दिनुभएको हो ।

सर्वाेच्चको आदेशमा भनिएको छ, ‘निवेदन माग बमोजिम अवहेलनामा सजाय किन नहुनु पर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपि साथै राखी विपक्षीका नाममा म्याद सूचना पठाई म्यादभित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु ।’

साउन २४ गते प्रमुख साहले नर्भिक अस्पतालले बनाएका अनधिकृत संरचना हटाउन २४ घण्टे अल्टिमेटन दिनुभएको थियो ।