९ मंसिर २०८१, आइतबार 1732440027
Banner

प्रतिनिधि सभाको कार्यकालबारे बहस, सरकारको प्रस्तावमा एमालेको आपत्ति

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधि सभाको कार्यकाल चुनावपछि समेत रहने गरी सरकारले ल्याएको विधेयकको विरोध गरको छ।

सरकारले केही नेपाल ऐन संशोधनमार्फत् प्रतिनिधि सभा निर्वाचन ऐन संशोधन गर्दै कार्यकाल गणना सपथ खाएको दिनबाट गर्ने व्यवस्था प्रस्ताव गरेको छ।

सरकारले ल्याएको विधेयक जस्ताको तस्तै पारित भए मंसिर ४ गतेको निर्वाचनपछि पनि अहिलेका सांसदहरू पदमा बहाल रहने छन्। सरकारले विधेयकमा नयाँ निर्वाचनपछि बस्ने प्रतिनिधि सभाको पहिलो बैठकबाट मात्र अघिल्लो प्रतिनिधि सभाको कार्यकाल अन्त्य हुने व्यवस्था प्रस्ताव गरेको छ।

एमाले सांसद एवं पूर्वकानून मन्त्री शेरबहादुर तामाङले प्रतिनिधि सभाको उम्मेदवारी दर्तासँगै कार्यकाल समाप्त हुनुपर्ने गरी व्याख्या गरिनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो मान्यता के हो भने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रक्रिया अर्थात् उम्मेदवारी दर्ता पछाडि कार्यकाल समाप्त गर्ने गरी जानुपर्छ । निर्वाचनको घोषणापछि संसद चलाउनुको अर्थ छैन। हामी जसरी विधेयक पारित गरिराखेका छौं त्यो पनि मिल्दैन।’

एमालेकै सांसद गोकुल बाँस्कोटाले पनि कोही मानिस सांसदको लोगो लगाएर निर्वाचनमा जाने कोही यत्तिकै जाने अवस्था बनाउन नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘दुई नागरिक बनाएर प्रतिष्पर्धामा जाने कुरा मिल्छ । मनोनयन दर्ताको अघिल्लो दिनसम्म ठिकै छ। निर्वाचनको अघिल्लो दिनसम्म पनि उत्पातै भए ठिक होला। षड्यन्त्र नै षड्यन्त्रको तानाबानाबाट बनेको सरकार भएकाले होला जनताको लोकतान्त्रिक अधिकारलाई चुनौती दिने गरी जागिरको निरन्तरताको रूपमा आउनु गलत हो। यसलाई स्वीकार गर्न सकिँदैन।’