२४ भदौ २०८३, बुधबार 1788942687
Banner

गठबन्धन सधैं टिक्दैन, दम्भ बढी भयो : कांग्रेस सांसद चौधरी

काठमाडौं – नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले सत्ता गठबन्धनका नाममा दम्भ देखाउन थालिएको भन्दै आफ्नै पार्टीको आलोचना गर्नुभएको छ ।

नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्तावमा आज प्रतिनिधिसभा बैठकमा बोल्दै चौधरीले गठबन्धन नाममा दम्भ देखाएको आरोप लगाउनु भयो ।

चौधरीले भन्नुभयो, ‘मलाई त हिजोआज कस्तो लाग्छ भने कांग्रेस र माओवादी मिलेपछि हामी बलियो भयौं भन्ने भ्रम परेको जस्तो लाग्छ ।’

उहाँले गठबन्धन धेरै नटिक्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धन टिकाउ पनि छैन, सधैंभरि टिक्ने पनि होइन। कांग्रेस होस् वा गठबन्धनका अरु दल कसैले पनि दम्भ नदेखाउनुस् दम्भ बढी भयो।’

चुनाव घोषणा गरिसकेर संसदको कार्यकाल बढाउने गलत कुरा हो भन्दै उहाँले यसबाट सरकारपछि हट्नुपर्ने बताउनु भयो ।

उहाँले यतिबेला गलत कामको खुलेर विरोध र आलोचना गर्न पनि डर भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीलाई त बाँच्न पनि गाह्रो भइसक्यो विरोधमा बोलुँ भने कांग्रेस र माओवादी मिलेर केही गर्ने हुन् कि भन्ने डर लाग्न थालेको छ। आफ्नै पार्टी भित्र र अन्य पार्टीबाट पनि डर छ।’