८ मंसिर २०८१, शनिबार 1732343738
Banner

लेखकको इमान जमानको गम्भीर प्रश्न

आफैँले गाली खानु पर्ने खालको लेख लेख्नु पर्ने भयो । यो लेख चाहिँ प्रदेश नं. १ को सरकार सित सम्बन्धित छ । प्रदेश सरकारले हालै प्रदेश स्तरको प्रज्ञाप्रतिष्ठान गठनसित सम्बन्धित विवादास्पद विधेयक पारित गरेछ । यस विषयमा स्रष्टा समाज तातेको देखिन्छ । सबै भन्दा पहिले नेपाली लेखक संघले विरोध विज्ञप्ति प्रकाशित गरे छ । यस पछि प्रलेस,प्रदेश तथा राष्ट्रिय जनसांस्कृतिक महासंघले आलोचनात्मक विरोध जनाएको पाइयो । यस लेखमा यसमा नेता र लेखकहरु जोडिएर आए । किनभने प्रायः स्रष्टाहरु नेताहरुलाई बेइमान भन्छन् तर आफूलाई भने पटक्क नियाल्दैनन् । आफ्ना आङको भैँसी नदेख्ने कतिपय स्रष्टाले नै स्रष्टाको खेदो खनेको देखेर पनि यसको शीर्षक यस्तो जुर्न गएको हो । त्यसैले नेतामात्र हो र लेखक चाहिँ कुन गतिला छन् र भन्न खोजिएको हो ।

महाकवि देवकोटालाई रुस गइस् कम्युनिस्ट भइस् भनेर दरवारमा पोल लगाउने स्रष्टा नै थिए । यसले गर्दा आठआठ महिना नेपाल एकेडेमीबाट पाउने पारिश्रमिक रोकिएर देवकोटाको जीवन अस्तव्यस्त भएको थियो । डा. मोदनाथ प्रश्रित पछिल्लो अवधिमा पुत्रमोहमा पर्नुभयो । यही कारण आफ्नै त्याग र तपस्यामा निर्मित आस्थाको अग्लो वैचारिक धरहरा भत्काउन कम्मर कसेर प्रश्रित लाग्नु भयो । जननेता मदन भण्डारीले भनेझैँ कुनै पनि खालको आर्थिक भौतिक अनियममितता गर्न नपाएर इमान्दार हुनु ठूलो कुरा होइन । तर अवसर पाउँदा कतिपय लेखक, कवि, स्रष्टा तथा कलाकार इमानी नभएको स्पष्ट देखियो,भोगियो । केही लेखक त यति लवस्तरा देखिए कि भनिसक्नु छैन । पार्टीको भागका तमाम नियुक्ति उही एक लेखकले बेसरम तरिकाले मात्र खानुछ । आफू्र बाहेक को छ र भन्ने मनोविज्ञान आफूलाई प्रगतिशील भनिने लेखकमा समेत रहेको छ । लाज,सरम र घीन भन्न नै छैन जस्तो छ । अनि उल्टै सरल र सज्जन लेखकलाई उही पो अर्ती गर्छ बाबै । गायत्री बिस्ट नामकी एक प्रसिद्ध सर्जक छिन् काठमाडौँमा । उनका नाममा आफ्ना अनुचर लेखकलाई कुलपतिले प्राज्ञ परिषद् बनाए । अनि उनैलाई जता तता जुन पायो त्यही पुरस्कारका लागि सिफारिस गर्ने त ठूलो कुर्सीमा विराजमान छन् । तैपनि यस खालका चरम सरम लाग्दा बेहोरा देखी देखी एक शब्द बोल्न पनि नसक्ने लेखकबाट समाजमा व्याप्त विसंगति हटाउन सहयोग पुग्दैन । साझा प्रकाशन यस्तै लेखकले डुवाए । अझै डुवाउँछन् कि उकास्छन् केही भन्न सकिन्न । संजय थापा भनेर कहलिएका प्रदीप नेपाल र दीनानाथ शर्मा नामका नेता साझा डुवाउने प्रमुख हस्ती हुन् अरु मतियरबोर अहिले केही नभनौँ ।

अझ देश नै डुवाउने कालोकोटे लेन्डुपथिकहरुको कालो कल्मष मनहरुको उछित्तो निलम्वित प्रन्या चोलेन्द्र शमशेरले काड्नु भयो । मानिस नरपशु हो तर कहिल्यै बुद्धि र विवेक पलाएर भने त्यसलाई पशुकै दर्जामा राखिदिए हुन्छ । यस्ता महामहिममा रामनारायण बिडारी पर्दा रहेछन् ।

विराटनगरमा वाणी प्रकाशन थियो । त्यसलाई कसले खाल्टामा पु¥यो कोही भन्न सक्छ ? त्यहीँ प्रसिद्ध साहित्यकार दधिराज सुवेदीले लाखौँ रकमको अक्षय कोष राख्नु भएको छ । त्यसैले स्रष्टा,द्रष्टा र भ्रष्टा पनि छन् । जुनसुकै जात,भात,धर्म र सम्प्रदायको किन नहोस् उसित स्रष्टा र सिर्जना धर्म भएकालाई यो लेखक सलाम गर्छ । नत्र कथित प्रगतिशील नामको नामधारी तगाधारी पिँधबिनाका लोहोटालाई यस लेखकले पत्यार गर्दैन । अहिले पनि केही लेखकहरु प्रगतिशील शब्द सुन्दा नै ततर्किन्छन् तर समालोचक कविराज न्यौपाने विचार र सिर्जनाको विविधतालाई अत्यन्त स्वाभाविक मान्नु हुन्छ । कुनै खरो प्रगतिशील नामधारी लेखक अरु कसैको लेख पढेर त्यसै रिसले दाह्रा किट्ता रहेछन् । आफूलाई त्यस्तो लाग्दैन । तिनले मै सित भन्थे र मेरा लेख पढेर आक्रोषको तीतो पोख्थे तर म भने उनका अत्यन्त दुराग्रही लेख पनि पढ्थेँ र उनलाई पढ्छु भन्थेँ ।

कतिपय लेखकहरु लेखकीय रङंग र रोगनका साथीसित मात्र हिडडुल गर्न मन पराउँदा रहेछन् । तर मलाई भने जति विविधताका बीच रमाइयो त्यति नै धेरै अनुभव हासिल हुन्छ ।

पोखरेल र गिरी थरि र अरु थरि कति सर्जक समालोचक घुमीघुमी खाइरहेको देख्दा लाज नै लजाउँछ । आफ्नै साथी सहकर्मीका नाममा टिपेक्स लगाएर भाग नै खोसी खाने लेखक पनि देखियो । कम्तीमा नेतालाई चोर र मैखाउँ मैलाउँ भन्ने लोभीपापी भनेर सदा सराप्ने लेखकले त आफूलाई अलिअलि चोखो राख्नु नि, अहँ छैन । मलाई पुग्यो, भयो, मैले पाएँ ,लिएँ अरुहरु प्रतिभावान् लेखकहरु पनि पुरस्कृत हुनुपर्छ भन्ने लेखक पाउन मुस्किल रहेछ । केही मेरा अत्यन्त आदरणीय स्रष्टा गुरु लेखक प्रोत्साहन पुरस्कार ग्रहण गर्न जहाँ पनि पुग्दा रहेछन् । सबै प्रतिभा,क्षमता र सिर्जनालाई उठाऔँ समृद्ध बनाऔँ भन्ने भावना कति स्रष्टामा होला । सिर्जनामा उच्च उदात्त मानवीय भावना व्यक्त गरिन्छ तर व्यवहार भने जात,जाति,धर्म,नाक र नश्लको संकीर्ण दायरामा रहेको छ । दलित हक हितका कुरा गर्न बहुतै सिपालु छ तर दलितलाई नै दलेर दातभात उसलाई कसैले भेट्तैन । एउटा साहित्यिक कार्यक्रममा घिमिरे थरि बाहुनवाद गन्हायो । संयोगले सभापति,अतिथि र पुरस्कृत व्यक्तित्व एकथरि बाहुनमात्र परेछन् अनि सम्बोधनका क्रममा एक उही थरि नेता र सर्जकले प्रमुख अतिथि पोखरेलको नाम पनि उच्चारण गरेर आफ्नै थरिको नामोल्लेख गर्दै भलिभाँती प्रशंसाको पुल हाल्यो । पुरस्कृत गने,पदक.दिने र सम्मान गर्ने क्रममा पनि कतिपय स्रष्टाले अति संकीर्ण चिन्तन राख्छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले र नेपाल सरकारले पनि बर्सेनि पुरस्कार प्रदान गर्छ । निर्णयक तहमा प्रज्ञाप्रतिष्ठन लगायतका व्यक्तित्वहरु रहन्छन् ।

डा. मोदनाथ प्रश्रितसित यस विषयमा यही लेखकले सोधनी गर्दा उहाँले विचित्रको विसंगत अवस्था सुनाउनु भयो । उहाँले मलाई पनि तीन सदस्यीय प्रतिभा छनौट समितिमा राखेर फसाएको बताउनु भयो । कुरो के रहेछ भने निर्णयक समितिका तीन सदस्य मध्ये दुई सदस्यले पहिले नै षढयन्त्रपूर्वक मिलिभगत गर्दा रहेछन् अनि बहुमतका नाममा पुरस्कार र पदकको फैसला गर्दा रहेछन् । यस्तो अवस्थामा आफू पनि परेको दारुण दृश्य मोदनाथ गर्नु हुन्थ्यो । अझ यसमा काठमाडौँ वा केन्द्रबाट प्रदान गरिने पुरस्कार र पदकमा काठमाडौँ बाहिरका सर्जकलाई सिफारिस नै गर्दैनन् प्रश्रितले भन्नु भयो । २०४८ सालदेखि बारबार मेरा पुस्तकाकार कृतिहरु पुरस्कारका लागि भनेर केही संस्थागत साथीहरुले माग गर्नु भयो र दिइयो पनि । तर कतिपय नेताका सिफारिसबाट योग्यता पुग अपुग भए पनि प्राज्ञ बन्ने पुरस्कृत हुँदा रहेछन् । केही वर्ष अघि नेपाल प्रज्ञा प्रतिष्ठानबाट मलाई फोन आयो । केन्द्रीय संस्कृति विभागकी उपप्राध्यापक तथा कृति र कृतिकार छनौट समितिकी सदस्य निर्मला न्यौपाने पोखरेल नामकी एक मेरा परिचित मित्रबाट । उनले भनिन् तपाईका पाँच महत्वपूर्ण समालोचना सहितका कितावहरु पुरस्कारका लागि प्रतिष्ठानमा आएका रहेछन् तर प्रज्ञाका कुलपति उपे्रतीलाई तपाईंले एक फोन गरे पुरस्कार सहज हुन्थ्यो भनिन् । यस कुरालाई मैले अस्वीकार गरेँ । बरु यो विकृति बारे डा. मोदनाथ प्रश्रित र नेता प्रदीप ज्ञवाली समक्ष राखेँ । म पनि यही धर्तीका हुन् त्यसैले केही केही अवगुण हुनु स्वाभाविक भए पनि समग्रतामा दुर्गुण हुनु सुहाउने कुरा होइन । चन्द्रमामा दाग हुन्छ तर समग्र चन्द्रमा दागी हनु भएन ।

प्राडा.अभि सुवेदी, जस्ता विज्ञ पनि राष्ट्रवाद र राष्ट्रघातको फरक छुट्याउन सक्ता रहेनछन् । अन्नपूर्ण पोस्ट पत्रिकामा एउटा लामै लेख लेखेर चरम जातिवादी भड्काउ लेख सुवेदीले लेखेका थिए । अर्का प्रा.डा.युवराज संग्रौलाले ताजा जनादेशका लागि बाध्य भइ गरेको संसद् विघटनलाई प्रतिगामी भन्दै गर्जिएर बहस गरे । एक समय सिक्किमले गणतन्त्र जोगायो तर देश जोगाउन सकेन भन्ने वरिष्ठ ओकिल संंग्रौलाले आखिर देशलाई भड्खालकामा हाल्न ज्यान फालेर लागेको परिणामबाट अहिले त छर्लङगै भयो । निलम्वित प्रन्या चोलेन्द्र शमशेरले कालोकोटेको सबै कालो कर्तुत खोलिदिए ।

लेखक समाज सुसंगत आनीबानी र बेहोराको हुनुपर्छ । यो समाजको अगुवा हो । थोरैले धेरैलाई परिचालित र प्रभावित गर्न सक्ने स्रष्टा तथा बुद्धिजीवी छेपारो जस्तो हुनुहुँदैन तर यस विपरीतको अराजक व्यवहार गरेर स्रष्टा र सिर्जनाको उन्नत चेत,चिन्तन र चरित्र कसरी कयम हुन्छ । तर केही मिनिा अघि विराटनगरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको इज्जत हामी आफैँले नराखे पछि भोलिले के भन्ला ? सुस्पष्ट दृष्टिकोण भएको कला,साहित्यिक तथा सांस्कृतिक महासंघीय नेतृत्वको अझै अभाव देखिन्छ । कला कुटनीति भन्ने पनि हुन्छ । कुनै पनि सर्जक आचरण आचारको अनुशासित सीमामा बस्नै पर्छ । यो जगत् र ब्रह्माण्ड ने अनुशासनमा चलेको हुँदा सन्तुलनमा रहेको छ । जीवनको पनि अनुशासन वा लय हुन्छ । लय छुट्यो भने जीवन टुट्छ ।

एउटा देशभक्त प्रगतिशील लोकतान्त्रिक स्रष्टाले देशलाई सर्वोपरि राख्छ । नागरिकता जस्तो विषयमा अनेक बहाना गरेर राष्ट्रघाती कुरालार्य किमार्थ सहँदैन । दक्षिण छिमेकमा रहेको नागरिकता विषयका प्रावधान विपरीत सिनेमा टिकट बाँडे जस्तो नागरिकता वितरण गरेर फिजी जस्तो बनाउने कुकर्ममा लाग्नु हुँदैन । त्यसैले कमीकमजोरी हुँदाहुदै पनि त्यसलाई सच्याउने सुधार्ने कुरामा जोडबल लगाउनुको बदला बहुदलीय पार्टी पद्धतिका तमाम सकारात्मक पक्षलाई निषेध गर्ने कामलाई पनि समर्थन गर्न सकिन्न । अहिले स्वतन्त्र उम्मेद्वार र जनप्रतिनिधिका पक्षमा कृत्रिम माहौल खडा गरेर देशलाई अर्को खालको खाडलमा पार्ने प्रपञ्च रचिँदैछ । त्यसैगरी मुखले प्रगतिशील भन्ने तर अनेक खालका अन्धविश्वासी कुरीति र कुपम्परालाई परोक्ष रुपमा समर्थन गरेर प्रगतिशील तथा अग्रगामी भइँँदैन भन्ने बेलैमा बुझ्न जरुरी छ । प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयकबारे विरोध विज्ञप्ति आउन थालेका छन् । विधेयकमा आआफ्ना सिर्जनात्मक मान्यताहरु प्रकट हुनुपर्छ । शब्दका ताँतीले मात्र हुँदैन । कोही विशुद्ध,स्वतन्त्र र राजनीति भन्दा माथिको साहित्य भन्छन् कोही विचार विहीन राजनीतिबाट अलग थलग साहित्य हुँदैन पनि भन्छन् । विचार सही छ भने त्यसमा अडिग र अडान राख्नै पर्छ । नत्र पिँधबिनाको लोहोटा हुन बेर छैन । आफ्नै पार्टीले गरेका सबै कुरालाई स्रष्टाले हुबहु मानेर हिड्नुपर्छ भन्ने छैन ।

यस म्यान मात्र होइन आलोचनात्मक चेतले मात्र दृढ अडान राख्न सघाउँछ । पार्टीले विभिन्न कारणले गरेका खोटलाई सुधार्न र सच्याएन बेलैमा पहल गर्नुपर्छ । अहिले त स्थानीय तहमा पनि कला साहित्य र संस्कृति परिषद् वा यस्तै संस्थाहरु गठन हुन थालेका छन् तर जुन स्रष्टा त्यसको प्रमुख पदाधिकारी बन्छ उसैले स्थानीय तहबाट विनियोजित बजेटको मोटो रकम अनेक बहानामा बेसरम तरिकाले आफ्नै गोजी भर्छ । तर आफूलाई सत्य,सदाचार, न्यायको पक्षधर भन्ने स्रष्टा बोल्दैन अझ त्यस्ता कार्यक्रमको सक्षी बस्छ । यही हो लोकतान्त्रिक गणतान्त्रिक चेत र चरित्र ? यही विषय प्रा.डा. टङ्कप्रसाद न्यौपानेलाई प्रश्न गर्दा मुर्झाएको अनुहार लगाएर हाँसेको अनुहार लगाउनु भएको थियो । असत्य र अनैतिक हो भन्ने फड्के किनाराको साक्षी बस्न सुहाउँदैन ।

प्रदेश नं. १ का स्वास्थ्य मन्त्रीले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर मन्त्रालयबाट हटाएर एउटा तमासा गरेछन् । नाम चलाउन टाउकाले टेकेर हिड्ने सित केही भन्नु छैन । अब के त्यसो हो भने नेपालको नक्सा पनि मन्त्रालयबाट हटाउने हो । प्रदेश भनेको नेपाल भित्रको नेपाल हो । छुट्टै देश होइन । यस्तो फट्याइँ टुलुटुलु हेरेर बस्न हुँदैन । नेतासित शुद्धिबुद्धि छैन भनेर हुनेहरुले मूर्खको झाँको झार्नु पर्छ । आफूलाई मन नपरेको राष्ट्रति र प्रधानमन्त्री भए पनि उच्च स्थानमा रहेकालाई उचित सम्मान गर्न जान्नु पर्छ । के त्यसो भए नगरपालिकाले कसकसको फोटो राख्ने र फ्याल्ने ? सर्जक सर्जक हुन् ध्वंशक नहुन् भन्ने चाहना मात्र हो ।
(लेखक एमाले प्रदेश नं. १ का संस्कृति विभागका प्रमुख हुनुहुन्छ ।)