२८ भदौ २०८३, आइतबार 1789339977
Banner

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कविकुञ्ज’ भवन उद्घाटन

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको भवन कविकुञ्ज आज शुक्रबार उद्घाटन गरिएको छ । निर्माणको जिम्मेवारी पाएको नेपाल प्रज्ञा प्रतिष्ठानले विजया दशमीको अवसर पारेर आज भवनको उद्घाटन गरेको हो। १२ आना १ दाम क्षेत्रफलमा फैलिएको यो भवनलाई प्रतिष्ठानले संग्रहालयको रुपमा सर्वसाधारणलाई खुला राख्ने जनाएको छ। सोही अनुसार संग्रहालयको भुइँतलामा देवकोटालाई सरस्वतीको प्रतीक मान्दै सरस्वतीको प्रतिमा अनि श्रव्यदृश्य सामग्री राखिएका छन्।

भारतको दिल्लीको एक भेलामा देवकोटाले बसेर ‘पागल’ कविता वाचन गरिरहेको फोटो भेटेपछि प्रतिष्ठानले दुरुस्तै देखिने शालिक पनि बनाउन लगाएको थियो। त्यसलाई संग्रहालयमा राखिएको छ। त्यसैगरी संग्रहालयमा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका भाँडाकुँडाहरू, लगाएका लुगाहरू र अन्य सामग्रीहरू राखिएका छन्। भवन निर्माणक्रममा यहाँ जाँतो भेटिएको थियो। त्यसलाई पनि यहीँ राखिएको छ।

देवकोटाले आफ्नो जीवनकालमा लेखेका कविता, खण्डकाव्य, समालोचना, भूमिका, अनुवाद लगायत जति पनि सामग्री छन्, ती सामाग्री पनि राखिएका छन्। त्यसबाहेक उनका प्रकाशित–अप्रकाशित कृतिका पाण्डुलिपि पनि त्यहाँ छन्। तेस्रो तला बुइँगल भएकाले त्यहाँ त्यसलाई प्रवचन वा अन्तरक्रिया कक्ष बनाउने प्रतिष्ठानको योजना छ।