९ मंसिर २०८१, आइतबार 1732443403
Banner

समानुपातिकको बन्दसूची ३२ दलले सच्चाए

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ३२ राजनीतिक दलले प्रतिनिधि सभातर्फको समानुपातिकको बन्दसूची परिमार्जन गरेका छन्।

निर्वाचन आयोगले आइतबारसम्म बन्दसूची संशोधन गर्न अवधि दिएकोमा आइतबार साँझसम्म ३२ दलले पहिले प्रस्तुत गरेको सूची संशोधन गरी आयोगमा बुझाएका छन्।

निर्वाचन आयोग राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतबार साँझसम्ममा ३२ वटा राजनीतिक दलले समानुपातिकको बन्दसूची सच्याएर बुझाएका हुन्।

आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिकको बन्दसूची सच्याएर बुझाउन आइतबारसम्मको समयसीमा दिएर ४८ राजनीतिक दललाई पत्राचार गरेको थियो। उनले भने, “हामीले ४८ वटै राजनीतिक दललाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेको त्रुटि सच्चाउन पत्राचार गरेका थियौँ, त्यसमध्ये प्रतिनिधि सभातर्फ ३२ दलका प्रतिनिधिले विवरण सच्याएर सूची बुझाउनुभएको छ।”

प्रदेश सभातर्फ प्रदेश १ मा ३१ दल, मधेश प्रदेशमा २१, बागमती प्रदेशमा २० दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २४ दल, कर्णाली प्रदेशमा २० दल र सुदूरपश्चिम प्रदेशमा २४ राजनीतिक दलले समानुपातिकको सूची सच्याएर बुझाएको प्रवक्ता वाग्लेले बताए।