१० मंसिर २०८१, सोमबार 1732520864
Banner

गठबन्धन बैठकमा जसपा नेता अनुपस्थित

 सिट बाँडफाटको टुंगो लगाउन बसेको गठबन्धन बैठकमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अनुपस्थित भएका छन्। सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै जसपा नेताहरू बैठकमा सहभागी नभएका हुन्।

जसपा स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू नेकपा एमालेसँग चुनावी तालमेलका लागि अन्तिम तयारीमा रहेका छन्। १६ सिट पाउने भएपछि गठबन्धनसँग असहमति जनाउँदै अध्यक्ष यादव बिहीबार बालकोट पुगेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको ड्राफ्टसमेत भएको स्रोतको भनाइ छ। तर चुनावी तालमेल कोसँग गर्ने भन्ने अन्यौल अझै कायम रहेको जसपा स्रोतको भनाइ छ।

जसपाले गठबन्धन भत्काउन लागेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन्। उनले संविधानको रक्षाका लागि गठबन्धन बनेको र त्यो भत्काउँदा संघीयता र प्राप्त उपलब्धिमाथि घात हुने प्रचण्ड सचिवालयले उल्लेख गरेको छ।

‘अहिले प्रतिगमनकारी, संघीय लोकतन्त्रविरोधी शक्तिहरु सिट बाँडफाँडमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाई लैजाने दिवास्वप्न देखिरहेका हुन सक्छन्। तर गठबन्धन वैचारिक र राजनीतिक उद्देश्यको जगमा निर्माण भएको हो। केही असहमति हुनसक्छ। तर यो गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पूरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस् भन्ने हामी सबैको चाहना हो। यो मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन् भने त्यो लोकतन्त्र, संघीयता र हामीले प्राप्त गरेका उपलब्धिमाथि घात हुनेछ,’ प्रचण्डका स्वकीय गंगा दाहालले लेखेकी छन्।