काठमाडौं- घटस्थापनाको दिनदेखि नै हिन्दूको महान चाड दसैँँ प्रारम्भ भइसकेको छ । रेडियो नेपालबाट गुञ्जिने मालश्री धुनदेखि हरेक बिहान आउने रेडियो नाटकले चाडलाई महसुस गराउँछ ।
दसैँलाई लक्षित गर्दै धेरै गीत तयार भएका छन् । हरेक वर्ष नयाँ गीतहरू सार्वजनिक हुने भए पनि केही ‘सदाबहार’ छन् । परदेशमा रहेका र मुग्लान भासिएकाको भावनाको प्रतिनिधित्व गर्ने गीतसँगै पुराना गीतको दबदबा कायमै छ । कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौँदेखि बजिरहेका छन् । रेडियो तथा टिभीमा घन्किने मालश्री धुनले नै दसैँको रौनक भित्र्याउँछ ।
सर्वाधिक बज्ने गीत हो ‘दसैँ आयो’ । फिल्म ‘मुग्लान’मा समावेश गीतले घर आँगनमै दसैँ भित्रिएको अनुभूत गराउँछ । लोकनाथ सापकोटाको तयार पार्नुभएको शब्दमा स्वर उदितनारायण झा तथा दीपा झाले दिनुभएको छ । गीतमा सुरेश अधिकारीले सङ्गीत दिनुभएको छ । रातो टीका, जमरा, पिङ खेल्दाको अनुभूतिसँगै घरपरिवारको खुसियाली समेटिएको गीतको भिडियो दर्शकमाझ प्रिय नै छ ।
स्वरसम्राट नारायणगोपालको स्वर दिनुभएको ‘बिछोडको पीडा’ पनि दसैँमा बज्ने गीतमध्येको एक हो । नारायण गोपालसँगै दिलमाया खातीले स्वर दिनुभएको गीतले दसैँमा गाउँ फर्किरहनुभएको युवाको प्रतिनिधित्व गरेको छ । ‘बिछोडको पीडा नसकी खप्न दसैँका बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ बोलको यो गीतले परदेशमा रहँदाको पीडा एवं घर फर्कने चाहनालाई उजागर गरेको छ । गीतलाई रत्नशमशेर थापाले लेख्नुभएको हो ।


