८ मंसिर २०८१, शनिबार 1732405106
Banner

आज उम्मेदवारको पुरा सूची सार्वजनिक हुने

काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिँदै छ । आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

बुधबार १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यातालिका छ  ।

उमेदवारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो । मनोनयन दर्ता भएका कुनै पनि उमेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले व्यवस्था मिलाएको थियो ।

आयोगमा परेको उजुरीमाथि सोमबार ३ बजेदेखि मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगमा कूल ५ हजार ९६८ उमेदवारी दर्ता भएको छ । प्रतिनिधिसभाको १६५ वटा निर्वाचन क्षेत्रका लागि २५ सय १३ जनाको उमेदवारी दर्ता भएको आयोगले जनाएको छ । प्रदेशसभातर्फ ३४ सय ५५ जनाको उमेदवारी दर्ता भएको आयोगले जनाएको छ ।