२८ भदौ २०८३, आइतबार 1789349078
Banner

आफूमाथी उजुरी परेपछि प्रधानमन्त्री देउवाले आज यसबारे प्रस्टीकरण दिनुपर्ने

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीबारे आज प्रस्टीकरण दिनुपर्ने भएको छ।

सोमबार देउवाको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरी परेको थियो।

देउवाका चुनावी प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले उजुरी जाहेर गरेका हुन्। मल्लले देउवाको नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरकरफरक जन्ममिति रहेको भन्दै उजुरी पेश गरेका हुन्। देउवाको नागरिकतामा जन्ममिति विक्रम संवत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ।

देउवाको मनोनयन खारेज हुनुपर्ने मल्लको माग छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले देउवालाई सो उजुरीबारे प्रस्ट पार्न समय दिइएको छ। देउवाका लागि उजुरी उपर स्पष्ट पार्न आज दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए।

देउवाको उजुरीपछि निर्वाचन आयोगले निर्णय लिने बताइएको छ।