८ मंसिर २०८१, शनिबार 1732424719
Banner

कांग्रेसका बागी उम्मेदवारलाई ५ वर्षका लागि निष्कासित

काठमाडौँ – नेपाली कांग्रेसले बागी उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक समेत बसेकाहरुलाई पार्टीको साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्व उम्मेदवार दिएका, प्रस्तावक बसेका र समर्थक रहेकाहरुलाई कारवाही गरिएको जानकारी दिनुभएको छ ।

देशभर प्रतिनिधिसभा र प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएर फिर्ता नलिनेहरुलाई कांग्रेसले कारवाही गरेको हो । गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर अधिकांश प्रभावशाली नेताहरुले भने बागी फिर्ता लिएनन् ।

कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला चितवन-३ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएका छन् भने पूर्वसांसद अमरेशकुमार सिंह सर्लाही-४ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।

पौडेलका अनुसार उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा समेत उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई पार्टी विधानको धारा ३४ (४) (क) बमोजिम पार्टीको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरिएको विज्ञप्ति उल्लेख गरिएको छ ।  

हेर्नुहोस् कांग्रेसको विज्ञप्ति