९ मंसिर २०८१, आइतबार 1732434070
Banner

चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन आजदेखि

बेइजिङ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशन आजदेखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू हुँदैछ। महाधिवेशनमा २२ सय ९६ जना प्रतिनिधिले भाग लिँदैछन्। यी प्रतिनिधिले समग्र चीनभरिका ९ करोड ६० लाख पार्टी सदस्यहरूको प्रतिनिधित्व गर्दछन्।

बेइजिङ समयअनुसार आइतबार बिहान १० बजे महाधिवेशन सुरू भएपछि कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रतिवेदनमाथि छलफल प्रारम्भ हुनेछ। प्रवक्ता स्वन एलीले शनिबार पत्रकार सम्मेलनमा महाधिवेशनबारे जानकारी दिनुभएको हो । महाधिवेशनमा सीपीसी, केन्द्रीय समितिको अनुशासन निरीक्षण आयोगको प्रतिवेदनमाथि लेखाजोखा गरेर पार्टीका महत्त्वपूर्ण विषयहरुबारे छलफल र निर्णय गर्ने मुख्य एजेण्डा रहेको छ।

सीपीसीकेन्द्रित महाधिवेशन पार्टीको आन्तरिक मामिला भए पनि विश्वको नजर बेइजिङतिर सोझिएको छ। करिब एक साताजति चल्ने यस महाधिवेशनले चीनलाई आगामी पाँच वर्षसम्म दिशानिर्देश गर्ने र यीनै नीतिले बाह्य जगतमा पनि प्रभाव पार्ने भएकाले विश्वले ध्यान दिने गर्दछ। पार्टीको १८औँ महाधिवेशन (सन् २०१२) बाट महासचिव बनेका सी चिनफिङ नेतृत्वको पार्टी र सरकारले विश्वमा गतिशीलता प्रस्तुत गरेकाले यो महाधिवेशनपछि के हुन्छ भन्ने जिज्ञासा उब्जिएको छ।

सीको नेतृत्वमा चीनको स्वाभिमान उँचो भएको र चीनको दबदबा विश्वमाझ अझै बढेको निष्कर्ष विश्लेषकहरूले गरेका छन्। यो महाधिवेशनले के कस्ता नेताहरूलाई अगाडि सार्छ र कस्तो खालको नीति तय गर्छ भन्ने कुराले विश्व जगतमा अर्थ राख्छ।

चिनियाँ सञ्चारमाध्यमहरूमा सी चिनफिङ नेतृत्वमा आएको एक दशकमा चीनले स्वागत गरेको परिवर्तनबारे चर्चा गरिएको छ। गरिबी निवारण, अर्थतन्त्र, अन्तर्राष्ट्रिय जगतमा चीनको प्रस्तुति, कोभिड – १९ महामारी नियन्त्रण, एक दशकमा चीनको कायापलटबारे अन्तर्राष्ट्रिय विश्लेषकहरूका दृष्टिकोणले पनि प्रमुख स्थान पाएका छन्। महाधिवेशनमा २२९६ जना प्रतिनिधि सहभागी हुने प्रवक्ता एलीले बताउनु भयो । यिनै प्रतिनिधिले चीनका ९ करोड ६० लाख पार्टी सदस्यहरूको प्रतिनिधित्व गर्दछन्। महाधिवेशनमा समाचार संकलनका लागि स्वदेसी तथा बिदेसी गरी झण्डै २५०० पत्रकार सहभागी हुने बताइएको छ ।