काठमाण्डौ । मतदातासँग भेटघाटका क्रममा काठमाण्डौ क्षेत्र नम्बर ५ (१) को प्रदेशसभा सदस्यका एमालेका उम्मेदवार नारायण सिलवालले आफू वडा समितिले राखेको हरेक कार्यक्रममा सहभागि भएर जनताको गुनासो सम्बोधन गर्दै आएको बताएका छन् । काठमाण्डौ महानगरपालिका वडा नम्बर २ मा टुकुचा खोलाले दुःख दिँदै आएकोमा अघिल्लो कार्यकालमा उक्त समस्या समाधान गरेको बताए । समस्या समाधानका लागि वरिष्ठ उपाध्यक्ष पोखरेल रक्षामन्त्री हुँदा नेपाली सेनाको सहायतामा टुकुचा खोलाको बाँध भत्काएर डुबानको समस्या आधा समाधान गर्न सफल भएको सिलवालले जानकारी दिए ।
काठमाण्डौ महानगर–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले हरेक समस्या आफूसमक्ष जानकारी गराउने र उक्त समस्या समाधान गर्ने गरेको उनले बताए ।
जनतासँग जनप्रतिनिधि कार्यक्रममा सहभागि भएर आफ्नो निर्वाचन क्षेत्रमा भएका हरेक समस्या समाधान गर्दै आएको उनले स्मरण गराए । जनताको शक्तिबिना केही काम गर्न नसक्ने उल्लेख गर्दै सिलवालले जनप्रतिनिधलाई जनताको साथ भएन भने पानीबिनाको माछा जस्तै हुने बताए ।
विगतमा काठमाण्डौ महानगरपालिकाले वडालाई वार्षिक २५ लाख रुपैयाँ मात्रै बजेट दिने गरेकोमा महानगरका तत्कालिन मेयर विद्यासुन्दर शाक्यसँगको पालामा रकम बढाएर २ करोड रुपैयाँ पुर्याएको र अहिले उक्त रकम ७ करोड पुगेको सिलवालले जानकारी दिए ।
त्यसैगरी केपी ओली प्रधानमन्त्री र ईश्वर पोखरेल उपप्रधानमन्त्री हुँदा मेलम्ची खानेपानी आयोजनाको विस्तारले गति लिएको सिलवालको भनाई छ ।
काठमाण्डौ महानगरको वडा नम्बर २ मा निर्माण गर्नुपर्ने सडकका लागि बजेट छुट्टयाएको तर नेपाल विद्युत प्राधिकरण र मेलम्ची आयोजनाको काम सम्पन्न नभएकाले सडकको काम रोकिएको सिलवालले जानकारी दिए । विगतमा पहिला सडक पिच गरेपछि कहिले प्राधिकरणको तार बिच्छ्याउन र कहिले मेलम्चीको पाइपका लागि त्यही सडक भत्काउनु परेकाले अब भने उल्टो काम नगर्नेतर्फ ध्यान दिएको उनले बताए ।
प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि विकास निर्माणका कामका अलावा प्रदेशको नीति निर्माणमा पनि आफू सक्रिय रहने सिलवालको भनाई छ ।